• १२ मंसिर २०८१, बुधबार

नगरपालिकाद्वारा पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया

blog

राजकुमार भट्टराई
खोटाङ, मङ्सिर २ गते । 
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क शल्यक्रियाका लागि पाठेघरको समस्या भएका महिलाहरूलाई अस्पताल लगिएको छ । शल्यक्रिया जिल्लामा सम्भव नभएपछि नगरपालिकाले बस रिजर्भ गरेर काभ्रेस्थित श्री मेमोरियल अस्पताल बनेपा लगिएको हो ।

शनिबार पहिलो पटकमा १७ जना बिरामी र उनीहरूको कुरुवा गरी ३४ जनाको टोली नगरपालिकाले रिजर्भ गरेको बसमा काभ्रे प्रस्थान गरेका छन् । उपचारका लागि बिरामी लिएर नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राईसहितको टोली काभ्रे गएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताउनुभयो । बिरामीको एक जना कुरुवासहित बिरामी अस्पतालसम्म जान आउन, खान बस्नसँगै उपचारमा कुनै शुल्क लाग्नेछैन । 

यो वर्ष पाठेघरको समस्या भएका करिब ६० जना बिरामीको निःशुल्क शल्यक्रिया गर्ने तयारी नगरपालिकाको छ । तर समस्या भएका कतिपय महिलाहरू अस्पतालसम्म जान नमान्ने गरेका छन् । नगरपालिकाले प्रत्येक वडामा गएर परीक्षण गर्दा अप्रेसन गर्नुपर्ने करिब ६२ जना बिरामी फेला परेको जनस्वास्थ्य निरीक्षक आचार्यले बताउनुभयो ।

नगरपालिकाले निःशुल्क अप्रेसन गरिदिने तयारी गर्दा पनि महिलाहरू नमान्ने गरेको उहाँको भनाइ छ । पहिलो र दोस्रो डिग्रीसम्म समस्या भएका महिलाहरूको पाठेघरमा रिङ प्रेसरी राखेर वडामै उपचार गरिएको छ । तेस्रो र चौथो डिग्री समस्या भएका महिलाहरूलाई शल्यक्रियाका लागि काभ्रे लान लागिएको हो ।  

थप अन्य बिरामीलाई यही मङ्सिर ५ गते अर्को बसमा काभ्रे लाने नगरपालिकाको तयारी छ । उक्त दिन सबै बिरामीलाई लान नसकिए पुनः ७ गते बस रिजर्भ गरेर लगिने प्रमुख भट्टराईले बताउनुभयो । काभ्रेसम्म कुरुवासहित बिरामीलाई लगेर निःशुल्क अप्रेसन गर्नका लागि सामुदायिक सेवा प्रतिष्ठान मध्यपुर ठिमी भक्तपुरले सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।

गाउँघरमा धेरै आमा दिदीबहिनीहरू पाठेघरको समस्याले ग्रसित रहेकाले उनीहरूको समस्याको समाधानका लागि उपचारको निःशुल्क व्यवस्था नगरपालिकाले मिलाएको प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । ‘‘गाउँ घरमा धेरै दिदीबहिनीहरू, विशेषगरी ६० वर्षमाथिका गाह्रो काम गरिरहेका महिलाहरू यो रोगबाट पीडित छन् । सबै महिला दिदीबहिनीले खुलेर यो रोगका विषयमा भन्न नसक्दा झनै जटिल हुँदै जाने भएकाले हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’’ प्रमुख भट्टराईले भन्नुभयो ।