• १५ असार २०८१, शनिबार

छठका कारण महँगियो फलफूल

blog

काठमाडौँ, मङ्सिर २ गते । तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ । तिहारको तुलनामा छठमा केरा महँगो भएको छ । छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शुक्रबार केरा प्रतिदर्जन १५० देखि १७० रुपियाँमा 

कारोबार भएको छ । तिहारको दिनसम्म केरा प्रतिदर्जन  ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो । नेपाल फलफूल थोक व्यवसायी सङ्घका अनुसार छठमा बढी माग हुने भएकाले मूल्य बढेको छ । छठलाई लक्षित गरेर बजारमा केरा, मौसम, सुन्तलालगायतका फलफूल भारतबाट भित्र्याइएको छ भने स्याउ भारत र चीनबाट भित्र्याइएको छ । 

कालीमाटी, कुलेश्वर, बल्खु, बालाजु बानेश्वर, धुम्बाराही, कोटेश्वर, जडीबुटी, एकान्तकुना, जोरपाटीलगायत काठमाडौँ उपत्यकाको ठाउँ ठाउँमा फलफूलका थोक बजारबाट फलफूलको कारोबार हुने गरेको छ । 

नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँका अनुसार काठमाडौँ उपत्यकामा भित्रिने कुल फलफूलको ८० देखि ८५ प्रतिशत कालीमाटी र कुलेश्वरको बजारबाट अन्य बजारमा सप्लाई हुन्छन् । सङ्घका अध्यक्ष अम्बर बानियाँले उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लग्ने गरेको बताउनुभयो । 

उहाँले छठमा विशेष गरी केरा, नरिवल, उखु बढी माग हुने गरेको र योबाहेक स्याउ, सुन्तला, मौसमको पनि माग भएको जानकारी दिनुभयो । धनीहरूले किबी र ड्रागन फ्रुटलगायत महँगा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूलको पनि विगतका तुलनामा कारोबार बढेको उहाँको भनाइ छ । 

सङ्घका अनुसार नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीयले माग धानेको छ । छठमा अधिकांश माग भारतबाट आएको केराले धान्ने गरेको अध्यक्ष बानियाँले बताउनुभयो । तिहार र छठको बिचमा ६०/६५ करोड मूल्यको केरा भारतबाट भित्रिएको छ । भारतीय केरा हेर्दैमा आकर्षक र ठुलो पनि हुने भएकाले आम उपभोक्ताले नेपाली केराभन्दा भारतीय केरा बढी किन्ने गरेको व्यापारी बताउँछन् । 

बल्खुका केरा व्यापारी अम्लेन्द्र साहले नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा आकर्षक नदेखिने भएकाले धेरैको माग भारतीय केराकै हुने गरेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार नेपाली केरा प्याकेजिङ राम्रो नहुने र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि भारतकै केरा किन्ने गर्छन् । सङ्घका अनुसार भारतीय काश्मीरी चक्लेटी स्याउ प्रतिकेजी थोक मूल्य २६० देखि ३६० रुपियाँ रहेको छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी २६० देखि २८० रुपियाँसम्म पर्छ । 

सङ्घले उपत्यकावासीको कुल स्याउ खपत वा मागको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले धान्ने गरेको छ । अन्य माग चीन र भारतको स्याउले धान्ने गरेको छ । सुन्तला प्रतिकेजी १३० देखि १६० रुपियाँ रहेको छ भने मौसम प्रतिकेजी १८० देखि २२० रुपियाँ रहेको छ । मौसममा भारतमै भर पर्नुपर्ने र सुन्तलाको हकमा नेपाली सुुन्तला फाट्टफुट्ट आए पनि धेरै भारतकै सुन्तला बजारमा रहेको छ । 

बढी मूल्य लिनेलाई जरिबाना 

यसैबिच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार छठलक्षित गरेर अनुगमन गरी चार वटा फलफूल व्यवसायीलाई जरिबाना तथा कारबाही गरेको छ । विभागको नेतृत्वमा शुुव्रmबार उपत्यकाका विभिन्न ठाउँमा भएको अनुगमनका क्रममा बढी मूल्य लिने फलफूल पसललाई १० हजारका दरले जरिबाना गरेको हो । विभागका निर्देशक आनन्दराज पोखरेलले विभागको नेतृत्वमा खटिएको अनुगमन टोलीले शुक्रबार काठमाडौँको गौरीघाट, कुलेश्वर र कालीमाटी क्षेत्रका व्यवसायीले फलफूलमा मनलाग्दी मूल्य लिएको पाइएपछि कारबाही गरेको जानकारी दिनुभयो ।