• ७ जेठ २०८१, सोमबार

दक्षिण एसियाली कराते यसै महिना

blog

कराते च्याम्पियनसिप बारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, मङ्सिर १ गते  नेपाल कराते महासङ्घको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मङ्सिर १६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामाले जानकारी दिनुभयो ।

दुई दिने च्याम्पियनसिपमा आयोजक नेपालसहित बङ्गलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धी गर्नेछन् । प्रतिबन्धमा रहेकाले श्रीलङ्काको भने एनओसी टिम सहभागी गराउन लागेको महासङ्घले जनाएको छ ।

च्याम्पियनसिपमा क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी चार विधामा कूल ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासङ्घका महासचिव दावा गुरुङले जानकारी दिनुभयो । क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ ।

जसमा तीन सय ५३ खेलाडीको सहभागिता रहने छ । सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको पनि महासङ्घले जनाएको छ । कुमुते टोली गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन् ।

अध्यक्ष लामाले नेपालको यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउनुभयो । उहाँले प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

‘‘प्राविधिक रूपमा यस प्रतियोगिता बङ्गलादेशले आयोजना गर्नु पर्नेमा बङ्गलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासङ्घ (एकेएफ) ले पनि स्वीकृति दिएको हो । बङ्गलादेशले प्रस्ताव नै राखेन । हामीले प्रस्ताव राख्यौँ । एकेएफको जोड पनि नेपाललाई नै रह्यो,’’ लामाले भन्नुभयो । 

एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासङ्घ (डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासङ्घले जनाएको छ ।

प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । खेल खेलाउन तीन टाटामी (म्याट) प्रयोग गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड १० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताअघि मङ्सिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ ।  प्रतियोगिताको दानैरानमा मङ्सिर १५ गते दक्षिण एसियाली कराते महासङ्घको कंग्रेस पनि हुनेछ ।