चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकको दोखु क्षेत्रमा सडक बत्ती जडान भएपछि स्थानीय खुसी भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखु क्षेत्रका विभिन्न टोलमा सडक बत्ती जडान गरिएपछि स्थानीय खुसी भएका हुन् ।
स्थानीयवासीको मागलाई दृष्टिगत गरी फुङ्लिङ नगरपालिकाले सडक बत्ती जडान गरेको हो । फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार दोखुको हिटी, बहानन्दे र ल्याङ टोलमा सडक बत्ती जडान गरिएको छ । उक्त टोलअन्तर्गत पर्ने मेची राजमार्गका १० वटा सडक बत्ती जडान गरिएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
वडाध्यक्ष सुनुवारका अनुसार सडक बत्ती झलमल्ल बलेपछि स्थानीय हर्षित भएका छन् । मेची राजमार्ग सडक निर्माण भएको करिब साढे तीन दशकपछि सडक बत्ती जडान भएसँगै रातको समयमा पनि उज्यालोमा हिँड्न पाउँदा आफूहरू हर्षित भएको स्थानीयको भनाइ छ ।
टोलबस्ती तथा चोक बजारहरू रहेको ठाउँमा सडक बत्ती जडान गरिएकाले झलमल्ल उज्यालोसँगै सम्भावित सडक दुर्घटना कम हुने तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने विश्वास राखिएको वडाध्यक्ष सुनुवारको भनाइ छ ।
यता, सडक बत्ती राखेपछि यातायातका साधन सञ्चालनमा र स्थानीयलाई आउजाउ गर्नमा निकै सहज भएको उहाँले बताउनुभयो । उहाँकाअनुसार सडक बत्तीको विद्युत महसुल फुङ्लिङ नगरपालिकाले तिर्ने छ ।