• ७ जेठ २०८१, सोमबार

विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिल पराजित

blog

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तान्दै उरुग्वेका खेलाडी । तस्बिर : एसी/रासस

काठमाडौं, मङ्सिर १ गते । साविक विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा हार खेपेका छन् । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गोलले पराजित भयो ।

अर्को खेलमा ब्राजिल कोलम्बियासँग उसैको मैदानमा २–१ गोलले स्तब्ध बन्यो । उरुग्वेको जितमा रक्षक रोनाल्ड आराउहो र डार्विन नुनेजले गोल गर्नुभयो । आराउहोले ४१औं र नुनेजले ८७औं मिनेटमा गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई स्तब्ध बनाउनुभएको हो । जितसँगै पाँच खेलबाट १० अङ्क बनाएको उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १२ अङ्क बनाएको अर्जेन्टिना शीर्ष स्थानमा छ । 

यस्तै कोलम्बियाको जितमा लुइस डियाजले ७५औं र ७९औं मिनेटमा दुई गोल गर्नुभयो । ब्राजिलका लागि ग्याब्रिएल मार्टीनेलीले चौथो मिनेटमा सुरुवाती गोल गरे पनि टोलीको हार टरेन । जितसँगै पाँच खेलबाट नौ अङ्क बनाएको कोलम्बिया तेस्रो स्थानमा छ । सात अङ्क बनाएको ब्राजिल पाँचौँ स्थानमा छ ।

अर्को खेलमा बोलिभियाले पेरुलाई २–० गोलले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी