• १२ साउन २०८१, शनिबार

मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजार भक्तजन (फोटो फिचर)

blog

मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका पर्यटकहरु । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

मुस्ताङ, मंसिर १ गते । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ । मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक दुई हजार भक्तजनहरू आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ । 

दसैँ–तिहार बिदाको उपयोग गर्दै मन्दिर दर्शन गर्न ठुलो सङ्ख्यामा भक्तजन आउनेगरेका छन् । नेपालको साथै भारत र अन्य मुलुकबाट दैनिक रूपमा भक्तजन मन्दिर दर्शन गर्न आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘मौसम सफा भएकाले हिजोआज भक्तजनको सङ्ख्यामा निकै वृद्धि भएको छ ।’’ मन्दिर परिसरमा रहेका एक सय आठ धारा र दुई वटा कुण्डमा स्नान गर्ने भक्तजनको भिड लागेको छ । 

मुक्तिनाथ हिन्दु र बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय १० मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’ मा पर्छ । ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरू ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरू उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् ।