नेत्र शाही
जुम्ला, मङ्सिर १ गते । भूकम्प पीडितको राहात तथा पुनर्निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख छ हजार सहयोगको घोषणा गरेका छन् । स्थानीय तहहरुले भूकम्पले प्रभावित जाजरकोट र रुकुमपश्चिमको राहत तथा पुनःस्थापनका लागि सहयोग पुग्ने भन्दै आ–आफ्नो स्थानीय तहले सहयोग रकमको घोषणा गरेका हुन् ।
जुम्लाको गुठिचौर गाउँपालिकाले १० लाख ५१ हजार रुपियाँ सहयोग गर्ने भएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पीडितलाई सो रकम उपलब्ध गराउने जानकारी दिनुभयो । गुठिचौर गाउँपालिकाको कात्तिक २२ गते बसेका कार्यपालिकाको बैठकले नेपाल सरकारको राष्ट्रिय विपत् कोषमा जम्मा गर्नेगरी उक्त रकम उपलब्ध गराइने जानकारी दिनुभयो । जुम्लाको तातोपानी गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई राहतस्वरुप दश लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले निर्णय गरेर दश लाख आर्थिक सहयोग गर्ने अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । भूकम्प पीडितका लागि चन्दननाथ नगरपालिकाले पाँच लाख ५५ हजार रकम सहयोग गर्ने कार्यपालिकाको निर्णय भएको जानकारी दिनुभयो ।
यसैगरी, जिल्लाको पातारासी गाउँपालिकाले पाँच लाख आर्थिक सहयोग गर्ने बताएको छ । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले पालिकाले पाँच लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले कात्तिक १८ गतेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । तिला गाउँपालिकाले तीन लाख रुपियाँ भूकम्प पीडितको राहत तथा पुनःस्थापनामा सहयोगमा दिने बताइएको छ । गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले तीन लाख रकम दिने सहमति भएको बताउनुभयो । यता जिल्लाकाे सिँजा गाउँपालिकाले एक लाख र कनकासुन्दरी गाउँपालिकाले एक लाख रकम सहयोग गर्ने सूचना जारी गरेका छन् ।
सांसद लामाबाट एक लाख ११ हजारसहित लत्ताकपडा सहयोग
यसैगरी, जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले एक लाख ११ हजार आर्थिक सहयोग गर्नुभएको छ । सांसद लामाले सो रकम विपत कोषमा जम्मा गरिसकिएको बताउनुभयो। सांसद लामाले विपतमा सानो सानो सहयोगले उपचार, राहात, पुनःस्थापनाका लागि सहयोग पुग्ने भन्दै सानो सहयोग गरिएको बताउनुभयो । उहाँले व्यक्तिगत रुपमा नगद सहयोग गर्नुभएको छ । सांसद लामाले नगद मात्रै नभई भूकम्प पीडितलाई लत्ताकपडा र सिरक पनि भूकम्प प्रभावित क्षेत्रमा पठाउनुभएको छ ।
भूकम्प पीडित नागरिकका लागि उहाँले थाल्नुभएको अभियानमा शुभचिन्तकहरुको सहयोगमा सङ्कलन गरेर करिब साढे चार लाख बराबरका लत्ता कपडा, सिरक प्रभावित क्षेत्रमा सहयोग भएको उहाँले जानकारी दिनुभयो । सांसद लामाले पहिलो चरणमा एक सय पिस कपडा, दोस्रो चरणमा १९० वटा डबल साईजको फाइबर सिरक र १२० थान कपडा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिनुभयो ।
माओवादीको राहात सङ्कलन अभियान जारी
नेकपा माओवादी केन्द्रले जुम्लामा राहत अभियान थालेको छ । भूकम्प पीडितका लागि नेता, कार्यकर्ता र शुभेच्छुकलाई आधिकारिक रुपमा विपतको खातामा जम्मा गरेर सहयोग गर्न अपिल गरेपछि अभियान चलिरहेको छ । जिल्ला संयोजक विरबहादुर कुँवरले सबैको सानो सहयोगले पिडितको उपचार, राहात र पुनःस्थापना हुने भएकाले सो कुरामा जोड गरिएको जानकारी दिनुभयो । माओवादीले भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा शोक विज्ञप्ति जारी गर्दै राहतमा सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गरेको थियो ।