• ६ जेठ २०८१, आइतबार

भूकम्प पीडितलाई बर्दिबास नगरपालिकाको सहयोग

blog

भूकम्पबाट अति प्रभावित सुदूरपश्चिमका स्थानीय तहमा पुगेर सहयोग चेक हस्तान्तरण गर्दै बर्दिबास नगरप्रमुखसमेत वडाध्यक्षहरु । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, मङ्सिर, १ गते । सुदूरपश्चिममा गएको भूकम्प पीडितलाई बर्दिबास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । नगरपालिकाले भूकम्पबाट अति प्रभावित ४ स्थानीय तहलाई १२ लाख रुपियाँ सहयोग गरेको हो । 

बर्दिबास नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको उक्त रकम वारपाक गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिका तथा रुकुम पश्चिमको आठवीसकोट नगरपालिकालाई सहयोग गरेको हो । 

नगरप्रमुख प्रह्लाद क्षेत्रीको नेतृत्वमा बर्दिबास ३, ७ र १४ का वडाध्यक्षहरु क्रमश. विराट विष्ट, भोरिल महतो, विजय महतो तथा नगर उपसचिव रेवती पराजुलीसमेतको टोलीले भूकम्प पीडित ४ वटै स्थानीय तहमा पुगेर बुधवार तीन लाख बराबरका चेकहरु नगरप्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको थियो । 

यस्तै, बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले प्रकोपले पुर्‍य ाएको सङ्कटका घडीमा भूकम्प पीडतका असीमित पीडामा सीमित सहयोग लिएर साथ दिन आएको बताउनुभयो । क्षेत्रीले दुखको यस कठिन बेलामा बर्दिबास नगरपालिकाको सधैँ साथ, सहयोग र सहानुभूति रहिरहने बताउनुभयो । 

सुदूरपश्चिमलाई सङ्कट परेको बेला मधेशबाट आएर बर्दिबास नगरपालिकाले सहयोग रकम उपलब्ध गराएकोमा नगरप्रमुखहरु भावविभोर हुनभएको थियो । सहयोग राशीको चेक ग्रहण गर्दै आठबीस नगरपालिका प्रमुख राजन केसीले यो सहयोगले नेपालीहरु जहाँ भए पनि दुःख परेका बेला भावनात्मक रुपले सबै एकै परिवारका सदस्य हौं भन्ने आभास दिलाएको भावना पोख्नुभयो । 

सहयोग गरिएकाे १२ लाख रुपियाँमध्ये बर्दिबास नगरपालिकाले १० लाख ७५ हजार, बर्दिबास उद्योग वाणिज्य सङ्घले ५१ हजार, सामुदायिक विकास तथा पैरवी मञ्चले ५० हजार र होटल तथा पर्यटन व्यवसायी सङ्घले २५ हजार रुपियाँ सहयोग गरेका थिए । 

सुदूरपश्चिमका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने बर्दिबास मधेश प्रदेशकै पहिलो र अहिलेसम्मको अन्तिम स्थानीय तह हो ।