• ४ जेठ २०८१, शुक्रबार

माइपोखरीमा त्रि-धार्मिक महोत्सव सुरु

blog

इलामको माइपोखरी । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर १ गते । इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि-धार्मिक महोत्सव सुरु भएको छ । विश्वशान्तिको कामनासहित आगामी मङ्सिर ८ गते महोत्सव आयोजना गरिने भएकाे हाे । महोत्सवमा सनातन, बौद्ध र किराँत धर्मावलम्बीले संयुक्त रुपमा पूजा अर्चना गरिनेछ। 

रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताका रुपले महत्वपूर्ण मानिने माइपोखरीमा त्रि–धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको आयोजक समितिका संयोजक प्रेम नाछिरिङ राईले बताउनुभयो । यसैगरी बौद्ध परम्पराअनुसार लामा गुरुहरुले यहाँ रहेको बौद्ध गुम्बामा पाठ तथा पूजा अर्चना र प्रवचन गर्नेछन् । माइपोखरीमा बनाइएको साकेला थानमा किराँत धर्मगुरुबाट साकेला पूजा र प्रवचन आठ दिनसम्म चल्ने संयोजक राईले जानकारी दिनुभयो ।

महोत्सवका लागि अहिले कलशयात्रा निकालिंँदै छ । कलश यात्राले नजिकै रहेको देउराली बजार परिक्रमा गरी ज्ञानमहायज्ञ आयोजना गरिएको स्थलमा आउनेछ । माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यले महाउत्सव आयोजना गरिएको जनाइएको छ ।  

रामसार क्षेत्रमा सूचीकृत भएपछि देशमा मात्र नभ अन्तर्राष्ट्रिय स्तरमा माइपोखरी क्षेत्र महत्वपूर्ण छ । यसको महत्वलाई विश्वभर प्रचार गराउन महाेत्सव आयोजना गर्न लागिएको आयोजक समितिका प्रचार संयोजक श्यामकुमार राईले बताउनुभयो । महोत्सवमा माइपोखरी दर्शन–अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन र दर्शन, हरेक साँझ गुरुहरूबाट माइपोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किराँत गुरुबाट प्रवचन यसका मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका प्रचार समिति संयोजक राईले बताउनुभयो । माइपोखरीमा पूजाआजा गर्दा विभिन्न भाकल र मनोकांक्षा पूरा हुने विश्वास गरिंदै आएको छ । 

माइपोखरीलाई सन् २००८ मा रामसार महासन्धिको दशौं बैठकले विश्वसम्पदा सूचीमा सूचीकृत गरेपछि अहिले माइपोखरीको जैविक विविधता अध्ययनरत गर्न विद्यार्थीहरु पनि उत्तिकै आउने गरेका छन् । 

दुई हजार एक सय १ मिटर उचाइमा रहेको माइपोखरीमध्ये पहाडी क्षेत्रमा पर्ने नेपालकै पहिलो रामसार क्षेत्र पनि हो । १२ हेक्टरको जलाशय रहेको माइपोखरी क्षेत्र दर्जनौं प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले ढाकेको छ । पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । न्यूनतम तीनदेखि अधिकतम १७ डिग्रीसम्म सेल्सियससम्म तापक्रम पुग्ने माइपोखरी क्षेत्रमा १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, छ प्रजातिका उभयचर पाइन्छन् । रुख भ्यागुताे, ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्याङट्याङ पाहा, हरियो छेपारो, चङ्खे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यही विविधतामा रमाउँछन् । 

यस्तै, यहाँ तीन प्रजातिका रैथाने माछा पाइन्छ । काकाकुल, भुँडीफोर, हिमाली गिद्धजस्ता तीन सय प्रजातिका पक्षी ओहोरदोहोर गर्छन् माइपोखरीमा । श्रीलङ्का–साइबेरिया आउजाउ गर्ने चराको मार्ग पनि माइपोखरी नै रहेको चराविद्हरु बताउँछन् । माइपोखरीको विकासका लागि भएका अध्ययनहरुमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन् । इलाम सदरमुकामबाट उत्तरमा बिब्ल्याँटे बजार हुँदै आधाजति कालोपत्रे र आधाजति कच्ची गरी १३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ ।