काठमाडौँ, मङ्सिर १ गते । उपत्यकाका तीन जिल्लामा दसैँपछि र तिहारको अवधिमा एक करोड तीन लाख रुपियाँ बराबरको चोरी भएको छ । यो अवधिमा काठमाडौँका विभिन्न २० स्थानमा २७ लाख ७९ हजार ४४५ रुपियाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कात्तिक ११ देखि ३० गतेसम्ममा काठमाडौँका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ललितपुरका १० स्थानमा २५ लाख ३० हजार ७५० रुपियाँ बराबरको चोरी भएको छ । त्यसै गरी भक्तपुरका सात स्थानमा ५० लाख ५६ हजार रुपियाँ बराबरको चोरी भएको छ । उहाँले चोरीका घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौँमा पाँच स्थानमा लुटपाट गर्ने तीन जनालाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चाडपर्वको बहानामा तास र लङ्गुरबुर्जा खेल्ने १३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँका १२, ललितपुर र भक्तपुरमा दुई–दुई स्थानबाट प्रहरीले ६९ बुक ताससहित अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले २१ लाख ७१ हजार ३३५ रुपियाँ बरामद गरेको छ । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौँ र ललितपुरका एक–एक स्थानबाट कौडा खेल्ने ३२ जनालाई १२ लाख ९१ हजार ५५० रुपियाँसहित पक्राउ गरिएको बताउनुभयो । प्रहरीले आठ जनालाई पटाकासहित पक्राउ गरेको छ ।