• ११ मंसिर २०८१, मङ्गलबार

उडिसामा ‘अभिनद्ध’

blog

काठमाडौँ, मङ्सिर १ गते  । उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक ‘अभिनद्ध’ मञ्चन भएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्य संस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीन वटा नाट्य संस्थाले संयुक्त रूपमा नाटक अभिनद्ध तयार पारेका थिए । तनहुँमा रहेर नाट्य कर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ, ओजस थिएटर काठमाडौँ र आदिइत्यादि काठमाडौँले संयुक्त रूपमा नाटक तयार पारेका हुन् ।

नाट्य महोत्सवका निर्देशक एवं नाट्य चेतनाका अध्यक्ष भारतीय नाटककार तथा निर्देशक सुबोध पटनायकले नेपाली नाटक अभिनद्धको मञ्चनले नेपाली नाट्य मञ्चनको शैली र भारतीय लोकनाट्य शैलीको आदानप्रदान भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली नाट्य संस्थाहरूसँग सहकार्य गर्ने बताउनुभयो ।

एकल महिलाले भोग्नुपर्ने सामाजिक प्रताडनमाथि केन्द्रित करिब एक घण्टा लामो नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गर्नुभएको हो । नाटकमा सविना गोपाली, रविन तामाङ, आकाश अधिकारी, सागर कार्की, सुशील सिंह ठकुरी र उषा केसीको अभिनय छ । नाटकमा कवि सरस्वती तिमल्सिनाको छ वटा कविता समावेश छ भने नारायण दङ्गालको सङ्गीत संयोजन रहेको छ  । नाटकको सहायक निर्देशन रविनता तामाङले गर्नुभएको छ । महोत्सवमा भारतका विभिन्न राज्य र नेपालका गरेर ११ वटा नाटक मञ्चन भएका थिए ।