• ७ जेठ २०८१, सोमबार

प्रभावकारी बन्दै दिवा खाजा

blog

बाजुरा समाचारदाता

बाजुरा, मङ्सिर १ गते । बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । खाजा कार्यक्रमपछि उपस्थित नहुने बालबालिका नियमित रूपमा विद्यालय आउन थालेका छन् । 

बुढीनन्दा नगरपालिका–९, सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायालाई विद्यालयनजिकै घर भएकाले खाजा खान घरमै जानु पर्ने बाध्यता थियो । अहिले विद्यालयमै खाजा पाउन थालेपछि त्यो समस्या हटेको विद्यार्थी रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा खाजा खान जाँदा पढाइ छुट्ने गथ्र्यो । अहिले विद्यालयमै खाजा मिल्न थालेपछि सबै विषय राम्रोसँग पढ्न पाएको छु ।” विद्यालयमा सञ्चालन भएको यो दिवा खाजा कार्यक्रमले उनी जस्तै अन्य बालबालिकालाई समेत नियमित विद्यालय आउन सहयोग गरेको छ । 

दिवा खाजा कार्यक्रम लागु नहुनुभन्दा पहिला अधिकांश बालबालिका दिउँसो भोक लागेपछि पढाइ छोडेर घर जाने तर फर्केर नआउने गरेको विद्यालयका शिक्षक बताउँछन् । 

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान्न कार्यक्रमको आर्थिक सहयोगमा यहाँका २३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ । 

विद्यालयमै मिठो र पोषिलो खाजा खान पाउने लोभले पछिल्लो समय बालबालिका नियमित विद्यालयमा आउन थालेपछि विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको बुढीनन्दा नगरपालिका–९, सिद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक तुलाबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमले स–साना बालबालिकालाई समेत विद्यालयमा आउन उत्प्रेरित गरेको छ । विद्यालयमा बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । 

विद्यालयमा दिने दिवा खाजाका कारण बालबालिका नियमित विद्यालयमा आउन थालेपछि पछिल्लो समय उनीहरूको आनीबानीका साथै पढाइमा समेत सुधार आएको छ । यसरी विद्यालयमा मिल्ने खाजाले पूरा विषय पढ्न थालेपछि बालबालिकाको पढाइमा निकै सुधार आएको शिक्षक रावतले बताउनुभयो ।

सरकारले बालबालिकाका लागि खाजा खर्च दिने गरेको छ । पालिकाबाट विद्यालयले त्यो रकम निकासा गर्दै विद्यार्थीलाई दिवा खाजा खुवाउने गर्दछन् । पालिकाले प्रतिबालबालिकालाई १५ रुपियाँका दरले रकम दिने गरेको छ ।

सोही रकमले विद्यालयले बालवालिकालाई बिस्कुट, मासु, चिउरा र फलफूल खुवाउने गरेको छ । सात वटा स्थानीय तहका करिब १३८ विद्यालयमा विश्व खाद्यान्न कार्यक्रम र दुई वटा स्थानीय तहका १०१ विद्यालयमा सरकारको आर्थिक सहयोगबाट दिवा खाजा कार्यक्रम सुरु भएको छ । खाद्यान कार्यक्रम लागु भएका विद्यालयमा एक विद्यार्थीलाई प्रति ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, दुई ग्राम नुन गरेर ११२ ग्राम खाद्यान्न कार्यक्रमले दिने र त्यो कार्यक्रम लागु नभएका विद्यालयमा १५ रुपियाँ दिने गरेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहले बताउनुभयो । बाजुरामा २३७ सामुदायिक विद्यालय रहेका छन् । 

शैक्षिक सामग्री वितरण 

यसैबिच बाजुराको हिमाली गाउँपालिका कुलमस्टाजन आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । एसोसिएसन रोबे पिएन्टोनी, नेपालका साथी संस्थाको सहयोग र हिमाली गाउँपालिकाको समन्वयमा सो सामग्री वितरण गरेको हो ।

कुलमस्टाजन आधारभूत विद्यालयका २५० जनालाई झोला, कापी डटपेनलगायतको शैक्षिक सामग्री वितरण गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका दुर्गम बस्तीका बालबालिकाको पठनपाठनमा सहज हुने गरेर सो संस्थासँग समन्वय गर्दै शैक्षिक सामग्री वितरण गरेको नागरिक सेवा सरोकार मञ्च बाजुराका अध्यक्ष जनेश भण्डारीले बताउनुभयो ।