गजेन्द्र गुरुङ
खजुरा, कात्तिक ३० गते । बाँकेको नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धन धामलाई प्रवर्धन गर्न बृहत् भण्डारा कार्यक्रम आयोजना गरिएको छ ।
नरैनापुर गाउँपालिका ४ मा अवस्थित गोवर्धन धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा प्रवर्धन गर्नका लागि बुधबार विश्व हिन्दु परिषद् नरैनापुरले भण्डारा कार्यक्रम आयोजना गरेको विश्व हिन्दु परिषद् बाँके जिल्ला कार्यकारिणी समितिका सदस्य एवं अधिवक्ता रामकुमार दीक्षितले जानकारी दिनुभयो ।
ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्र गोवर्धन धाममा परापूर्वकालदेखि हरेक वर्ष गोवर्धन पूजाका अघिल्लो दिनदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना हुँदै आइरहेको दीक्षितले बताउनुभयो ।
गोवर्धन धाममा गोवर्धन पूजाको अघिल्लो दिनदेखि रातभर जाग्राम भएर पूजाआजा गरिने, भजन कृतन गरिने र गोवर्धन पूजाका दिन गोवर्धनको पूजागरी बृहत् भण्डारा गरिँदैआएको दीक्षितले बताउनुभयो ।
गोवर्धन धाममा पूजाआजा गर्न तथा भण्डारामा सरिक हुन बाँके, बर्दिया, दाङ तथा भारतको सीमावर्ती गाउँका हजारौं दर्शनार्थी हरेक साल त्यहाँ पुग्नेगरेको अधिवक्ता दीक्षितले जानकारी दिनुभयो ।
दीक्षितका अनुसार यो वर्ष नेपाल र भारतका विभिन्न स्थानबाट आएका १० हजारभन्दा बढी दर्शनार्थीले पूजाआजा गरेको र बुधबारको दिन बृहत् भण्डारामा ५ हजार जति दर्शनार्थी सहभागी भएका थिए ।
अति रमणीय, सुन्दर अनि मनमोहक दृश्यले भरिपूर्ण सो गोवर्धनधाम क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य दर्शनार्थी तथा पर्यटकलाई ल्याउन सकिए स्थानीयको आयस्रोतमा पनि वृद्धि हुने र ठाउँको पनि पहिचान हुने अधिवक्ता दीक्षितले बताउनुभयो ।
नेपालगञ्जदेखि करिब ३८ किलोमिटर पूर्व नरैनापुर पुगेर नरैनापुरको वडा ४ जयारामपुरुवाबाट उत्तर ४–५ किलोमिटर अगाडि जङ्गलको बीचमा गोवर्धनधामको मन्दिर छ । नरैनापुरसम्म चारपाङ्ग्रे सवारीसाधन र नरैनापुरबाट मोटरसाइकलको प्रयोग गरी सो स्थलमा पुग्न सकिने दीक्षितले जानकारी दिनुभयो ।
गोवर्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीय स्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर छ । नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनारक्षेत्रमा विभिन्न मठमन्दिर छन् ।