• ३ जेठ २०८२, शनिबार

बोरा गोदाममा आगलागी, ४० लाख बरावरको क्षति

blog

सुरेशकुमार शाहले सञ्चालन गर्नुभएको एसके ट्रेडिङ्गको बोरा गोदाममा भएको आगलागी । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २९ गते । नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके ट्रेडिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो । 

राति करिब १२ बजेतिर लागेको आगो आज बिहानीपख मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरा लगायतका सामग्री जलेर नष्ट भएको छ । जुटको बोराको गोदाम भएका कारण आगलागी नियन्त्रणमा आउन थप समय लागेको उहाँले बताउनुभयो ।

दुई वटा बारुण यन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ४० लाख रुपियाँ बराबरको क्षति भएको एसके ट्रेडिङ्गका सञ्चालक सुरेशकुमार शाहले बताउनुभयो । 

उहाँका अनुसार गोदामभित्र रहेको ५० हजार थान ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टाको बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ । नेपालगञ्जमा रहेको उक्त गोदामबाट महेन्द्रनगर, धनगढी, राजापुर र पहाडी जिल्लाका लागि थोक दरमा गल्ला भर्नका लागि बोरा विक्री गर्ने गरिएको सञ्चालक शाहले बताउनुभयो ।