• २ असार २०८१, आइतबार

गाजाको सबैभन्दा ठूलो अस्पतालमा सेनाको आक्रमण

blog

फाइल तस्बिर

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र), कात्तिक २९ गते । 

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठुलो अस्पतालमा प्रवेश गरेको छ । 

हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ।

इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजराइल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट क्षेत्रमा हमासविरुद्ध सटीक र लक्षित’ कारवाही गरिरहेको बताएको छ । 

अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसरभित्र ट्याङ्क तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौँ सैनिक र कमान्डोहरूलाई देख्न सकिने एएपफीलाई बताएका छन् । 

अल–शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजरायलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण उक्त अस्पताल परिसरभित्र छन् । 

प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् । 

एनेस्थिटकबिना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव भएका परिवारहरू कोरिडोरमा बस्ने गरेका र सडेका शवका दुर्गन्ध फैलिरहेको बताएका छन् । 

अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले भन्नुभयो, “अस्पताल परिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन ।”

कमान्ड पोस्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालका रूपमा प्रयोग गर्दै आएको इजरायलले लगातार दाबी गर्दै आएको छ तर उक्त दाबीलाई हमासले अस्वीकार गरेको छ । सेनाले हमासको उक्त प्रयोगले अस्पतालको ‘अन्तर्राष्ट्रिय कानुनअन्तर्गत संरक्षित स्थिति’ लाई ‘जोखिम’ मा पारेको बताएको छ ।

प्यालेस्टिनी लडाकू समूहले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अल–शिफा अस्पतालमा इजरायली आक्रमणका लागि ‘पूर्णरूपमा जिम्मेबार’ भएको आरोप लगाएको छ । गाजामा कुनै अधिकार नभएको तर ऐतिहासिकरूपमा प्यालेस्टिनीहरूको प्रतिनिधि निकाय प्यालेस्टिनी प्राधिकरणले ‘अस्पतालभित्र गरिएको नरसंहारविरुद्ध’ चेतावनी दिएको छ । रासस-एएफपी