अमरराज नहर्की
तनहुँ, कात्तिक २८ गते । तनहुँको एक पालिकाको कृषकले उत्पादन गरेको फूल कतार निर्यात भएको छ । आँबुखैरेनी गाउँपालिकाका कृषकले उत्पादन गरेको सयपत्री फूल कतार निर्यात भएको हो ।
गाउँपालिकाको सहयोगबाट आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समुह र आँधीमूल आमा समूहले उत्पादन गरेका ८५ किलो फूल कतार निर्यात भएको छ । दुई आमा समुहले २१ रोपनी क्षेत्रफलमा लगाएको ३० हजार बोटबाट सो फूल निर्यात भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।
प्रतिकिलोग्राम पाँचसय ५० का दरले फूल निर्यात गरिएको उहाँले जानकारी दिनुभयो । चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै जाने हुँदा अध्यक्षसँग कृषि कार्यक्रम अन्तर्गत व्यावसायिक फूल खेती गरिएको हो ।
व्यावसायिक खेती गरी आर्थिक आम्दानीको बलियो स्रोतको रुपमा विकास गर्न सकिने भएकाले गाउँपालिकाले नमूनाको रुपमा खेती थालेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, ‘‘पुष्प व्यवसायबाट कृषकको आयआर्जन गर्न साथै बिदेशबाट हुदैआएको पुष्प आयतलाई प्रतिस्थापन गरी पुष्पमा आत्मिनभर बनाउने कार्यक्रमको लक्ष्य छ ।’’
पालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा आमा समुह र विद्यालयमार्फत फूल खेती गरिएको छ । कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरु सिर्जना गर्ने र रोजगारीका लागि विदेशिनेक्रम न्यूनीकरण गर्न कृषिलाई प्राथमिकतामा राखिएकाले अध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष चुमानले बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, ‘‘आउँदो वर्ष सयपत्री फूलका मालासँगै फूलबाट अगरबत्ती र परफिम पनि बनाएर कतार निर्यात गर्ने योजना बनाएका छौ, फूल विदेश निर्यात हुन थालेपछि थप हौसला मिलेको छ ।’’
बजार व्यवस्थापनको जिम्मा लिएको आँबुखैरेनी गाउँपालिकाले किसानको बारीमा पुगेर फूल निर्यातमा महत्वपूर्ण भूमिका खेलेको आमा समुहले जनाएको छ । सयपत्री फूल निर्यात कार्यमा भुजेल समाजका प्रतिनिधि विकास भुजेलले सहयोग गरेको गाउँपमालिकाले जनाएको छ । दोहाको रिजेन्सी मार्केटमा रहेको सुदान फ्लावर पसलले दीपावलीको दिनबाट बिक्री वितरण सुरू हुनेगरी नेपालबाट सयपत्री फूल कतारमा भित्राएको हो ।
फूलको साइजअनुसार एक मिटरको मालाको बजारमूल्य २५ देखि ३० रियाल कायम गरिएको सुदान फ्लावरका मालिक कविन्द्र कँडेलले जानकारी दिनुभयो । तिहार पर्वलाई मात्र लक्षित नगरी अन्य समयमा समेत नेपाली फूललाई निरन्तरता दिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
दुईवटा आमा समूहलाई पहिलो वर्षमा नब्बे हजार पूर्णरुपमा अनुदान प्रदान गरिएकाले आगामी दोस्रो वर्षदेखि गाउँपालिकाले प्राविधिक मात्रै सहयोग गर्ने सो गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाका अनुसार आमा समुहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीबाट वर्षेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान राखिएको छ । महिलालाई फूल खेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित सय प्रतिशत अनुदानमा फूलका बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको छ ।
व्यावसायिक फूलखेती थालेसंगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिनुभयो । कृषकलाई फूल टिप्न र बेच्न भ्याइनभ्याई छ ।