• २७ वैशाख २०८२, शनिबार

सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आवेदन माग

blog

मकवानपुरको भीमफेदी गाउँपालिकाको कार्यालय ।

राममणि दाहाल
हेटौँडा, कात्तिक २८ गते ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन मकवानपुरको भीमफेदी गाउँपालिकाले आवेदन माग गरेको छ ।

सामाजिक सुरक्षा कोष र गाउँपालिकाबीच गत साउन ३० गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजना कार्यक्रम सञ्चालन गर्न कोष सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार गाउँपालिकाले योजनामा आबद्ध हुन इच्छुक अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई आह्वानसहित आवेदन माग गरेको हो ।

गाउँपालिका अध्यक्ष हिदम लामाले डकर्मी, सिकर्मी, लोड अनलोड, गिट्टी–बालुवा चाल्ने, ढ्ङ्गा फुटाएर जीविका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामीलगायत अन्य श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई गाउँपालिकासँगको साझेदारीमा सामाजिक सुरक्षा कोषमा सहभागी हुन आह्वानसहित आवेदन माग गरिएको जनाकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्ष २०८०/०८१ मा पालिकाभित्रका सय जना अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्ने पालिकाको कार्यक्रम छ ।

अनौपाचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ अनुसार अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात् हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ । यस्तै, स्वरोजगार क्षेत्रका व्यक्तिले योजनामा सहभागी हुन जम्मा न्यूनतम आधारभूत पारिश्रमिकको ३१% वा त्यसको तीन गुणासम्म रकम कोषमा जम्मा गर्नुपर्नेछ ।

योजनामा आबद्ध हुन चाहने अनौपचारिक क्षेत्रका श्रमिकहरुले हस्तलिखित आवेदनसहित नेपाली नागरिकताको प्रतिलिपि, वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक रहेको भनी गरेको सिफारिसपत्र, मासिक कोषमा रकम जम्मा गर्नेसम्बन्धी स्वघोषणा पत्र बुझाउनुपर्ने पालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

वडाबाट प्राप्त निवेदनमाथि पालिकाको सामाजिक विकास समितिले आवश्यक परिमार्जन गरी सूचीकृत श्रमिकको अन्तिम नामावली प्रकाशन गर्ने व्यवस्था छ । कार्यक्रममा गरिब घरपरिवार सूचीमा सूचीकृत परिवारको सदस्यलाई प्राथमिकता दिइने जनाइएको छ ।