• १२ मंसिर २०८१, बुधबार

भेरीमा थप दुई जना भूकम्पका घाइतेलाई ल्याइयो

blog

भेरीमा थप उपचारका लागि जाजरकोटबाट ल्याइएको ६ वर्षीय घाइते बालक दिवस बस्नेत । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, कात्तिक २८ गते ।
भूकम्पमा परी घाइते भएका थप दुई जना बिरामीलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । जाजरकोटबाट थप उपचारका लागि दुई जना भूकम्पका घाइतेलाई मङ्गलबार बिहान भेरी अस्पतालमा ल्याइएको हो ।

बारेकोट गाउँपालिका ५, नायकबाडा जाजरकोटका ६३ वर्षीय गोपाल दमाई र सोही गाउँपालिका वडा नं. ७, सुवाकोटका ६ वर्षीय बालक दिवस बस्नेतलाई थप उपचारका लागि मङ्गलबार भेरी अस्पताल ल्याइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

यक सबै एक्सरे, रगत जाँचलगायत स्वास्थ्य जाँच तथा आवश्यक औषधि समेतको व्यवस्थापन गरिसकिएको र उहाँहरुको शल्यक्रिया गर्ने तयारी गरिएको श्रेष्ठले बताउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार दमाईको दाहिने हात र स्पाइन भाँचिएको र दिवसको दाहिने हात भाँचिएको छ । विरामी दुबै जनालाई फरक फरक समयमा एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको उहाँले जानकारी दिनुभयो ।

“जाजरकोटका विभिन्न स्वास्थ्य संस्थामा सामान्य उपचार गराई निको भयो भनेर उहाँहरु घरमा बस्नुभएको रहेछ, पछि शरिरमा पीडा हुन थालेपछि थप उपचारका लागि यहाँ आउनुभयो, एक्सरे गर्दा उहाँहरुको हात र स्पाइन भाँचिएको पाइयो ।,” श्रेष्ठले भन्नुभयो, “जतिपनि भूकम्पका घाइतेहरु हुनुहुन्छ कृपया सबैले एकपटक राम्रोसँग कम्तीमा पनि एक्सरे गर्नुहोला, लामो समय भयो भने उपचार गरेर निको हुन गाह्रो हुन्छ ।”

भेरीमा आज ल्याइएका दुई बिरामीसमेत गरेर अब भूकम्पमा परी घाइते उपचाररत बिरामीको सङ्ख्या ८ पुगेको छ । सबै बरामीको अवस्था सामान्य भएको हुँदा सबैलाई पेइङ् वार्डमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

यो समेत जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइनुभएका बिरामीको सङ्ख्या ६० पुगेको छ । जसमध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसक्नुभएको छ भने भेरीमा उपचाररत ८ जना रहनुभएको छ । एक जनाको अस्पताल पुर्‍याउदै गर्दा मृत्यु भएको र तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।