• १५ मंसिर २०८१, शनिबार

गाई संरक्षण केन्द्रमा धार्मिक पर्यटक बढे

blog

संरक्षण केन्द्रमा रहेका गाई । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २७ गते । तनहुँको व्यास नगरपालिका–१० शिसुवा, भतेरीमा सञ्चालन गरिएको गाई संरक्षण केन्द्र धार्मिक पर्यटनका रुपमा विकास हुँदैगएको छ । पछिल्लो समय गौमाताको सेवामा धेरैको आकर्षण बढ्न थालेपछि धर्मिक पर्यटक बढ्न थालेका हुन् । 

राष्ट्रिय जनावर गाईको संरक्षण गर्ने र सहरबजार तथा बालीनाली भएका जग्गामा छोडिएका छोडुवा गाईको उचित व्यवस्थापन गर्न व्यास नगरपालिकाको सहयोगमा केन्द्र सञ्चालनमा ल्याएको हो । 

बालबालिकादेखि सबै उमेर समूहको गौरक्षाका निम्ति सहयोग प्राप्त भएपछि गाई पालनमा सहज भएको छ ।  विशेषगरी पछिल्लो समय जन्मदिन, विवाह उत्सव, पितृकार्य, श्राद्धको अवसरमा नगद तथा विभिन्न गाईलाई दाना, चोकर सहयोग गर्ने बढिरहेको गाई संरक्षण समितिले जनाएको छ । 

गाई संरक्षणको साथै छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित वि.सं २०७६ देखि केन्द्र सञ्चालनमा ल्याइएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिनेलगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको समितिका अध्यक्ष तथा व्यास  नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रको कुहिने फोहोर र गाईबस्तुको मलमूत्र सङ्कलन गरी केन्द्रमा निर्माण गरिएको करिब ६० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट ग्याँस उत्पादन भएको छ ।

तीन सय रोपनी जमिनलाई घेराबार गरी व्यवस्थित तरिकाले गाई संरक्षण भइरहेको छ । विभिन्न पर्वमा, जन्मदिनमा, विवाह उत्सव, श्राद्धमा नदी स्नान गरी यहाँ रहेको गाईको  दर्शन गर्नेको चहलपहल हुने गरेको छ । केन्द्र सञ्चालनमा आएपछि धार्मिक तीर्थालु बढ्दै गएको स्थानीयको भनाइ छ ।