• ६ जेठ २०८१, आइतबार

कला संस्कृति संरक्षण गर्न ‘डिग्रे मेला’

blog

डिग्रे मेला आयोजना गर्न बैठकमा सहभागी भएका मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २७ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकामा मेला सञ्चालन हुनेभएको छ । स्थानीय कला संस्कृतिलाई संरक्षण एवम् प्रवर्धन गर्न मेला सञ्चालन गर्न लागिएको हो ।

राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरमा आगामी मंसिर १० देखि ‘डिग्रे मेला’ सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिनुभयो ।

हरेक वर्ष सिद्ध साइकुमारी मन्दिर परिसरमा लाग्दैआएको डिग्रे मेला यसवर्ष पनि मंसिर १० गतेदेखि १२ गतेसम्म सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिले निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो ।

मेलामा विषेशगरी स्थानीय कला संस्कृतिलाई संरक्षण तथा प्रवर्धन गरिनेखालका झाँकी, स्थानीय क्लब, भैली समुह, आमा समुहद्वारा विभिन्न प्रस्तुति प्रदर्शन हुने उहाँले जानकारी दिनुभयो । मेलामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता पनि आयोजना हुने केसीले बताउनुभयो ।

विषेशगरी स्थानीय कला तथा संस्कृतिलाई बचाई राख्नका लागि समाजबाट लोप हुँदै जान लागेका मयुर नाच, सिँगारु नाच लगायतका प्रस्तुतिहरु प्रदर्शन गरिने तथा युवाहरुलाई खेलकुदमार्फत् जोड्नका लागि भलिबल, व्याटमिन्टनजस्ता खेल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

मेला हेर्न हरेक वर्ष बाँके, बर्दिया, दाङलगायत भारतका विभिन्न स्थानबाट समेत हजारौँको संख्यामा दर्शकहरु आउनेगरेको केसीले बताउनुभयो ।