• १८ वैशाख २०८१, मङ्गलबार

तिहारका लागि १२ क्विन्टल सयपत्री फूल उत्पादन

blog

राप्तीसोनारीमा उत्पादन गरिएको सयपत्री फूल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २७ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ स्थित साना किसान कृषि सहकारी संस्थाले तिहारका लागि १२ क्विन्टलभन्दा बढी सयपत्री फूल उत्पादन गरेको छ । 

प्लाष्टिकका कृत्रिम मालालाई विस्थापित गर्दै प्राकृतिक फूलको प्रयोग बढाउने उद्देश्यले तीन लाख रुपियाँको लगानीमा तीन कठ्ठा जग्गामा सयपत्री फूलको खेती गरिएको सो सहकारी संस्थाले जनाएको छ । 

साना किसान कृषि सहकारीका मुख्य प्रबन्धक अमरराज गौतमले केही वर्षयता चाडपर्व विशेष गरेर तिहारको बेला फूलको माग अत्यधिक बढ्दै गएकाले सो मागलाई केही भए पनि पूरा गर्न पुष्प खेती गरेको बताउनुभयो । 

उहाँले कृषि क्षेत्रमा पनि केही नयाँ काम गरौँ भनेर संस्थाले सयपत्री फूलको खेती गरेको जनाउँदै सहकारीले ८ बिघा जग्गा ठेक्कामा लिई अन्य खेतीसँगै करिब ३ कठ्ठामा व्यावसायिक रुपमा फूल खेती गरेर बिक्री तथा आम्दानी गर्न थालेको बताउनुभयो । 

सो सहकारीले उत्पादन गरेको फूलको खपत अहिले कोहलपुर र नेपालगन्जमा भइरहेको र माग उच्च रहेको सहकारीका प्रबन्धक गौतमले बताउनुभयो । उहाँले थप्नुभयो, ‘हामीले फूल खेती गरेर चाडपर्वको माग पूरा गर्नुका साथै कयौं स्थानीयलाई रोजगारी समेत दिएका छौ, सहकारीले हाल प्रतिकिलो ३०० रुपियाँका दरले सयपत्रीको फूल बिक्री गर्दैआएको छ ।’

साना किसान कृषि सहकारीका अध्यक्ष दीर्घबहादुर बुढाथोकीले पहिलो पटक गरिएको सयपत्री फूल खेतीबाट १२ क्विन्टल सयपत्रीको फूल उत्पादन भएको बताउनुभयो । यस पटकको बिक्रीबाट उत्साहित भएर आगामी वर्षदेखि खेती थप विस्तार गर्दै जाने उहाँको भनाइ छ ।  

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमदले फूल खेतीमा लाग्न चाहने सहकारी र किसान दुबैलाई विभिन्न प्रकारका सहयोग गरिने बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रले तरकारी फलफूल लगायतका बस्तुहरुको भारतबाट आयात घटाउन आफ्नै जिल्लामा उत्पादन बढाउँदै जाने नीति लिएको बताउनुभयो ।