• १४ जेठ २०८१, सोमबार

तिहारका लागि माला बुन्न भ्याइनभ्याइ

blog

तिहारका लागि माला बन्दै स्थानीय कृषक । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, कात्तिक २७ गते । घोराही उपमहानगरपालिका–१३ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्नलाई भ्याइनभ्याइ छ । तिहार पर्व सुरु भएसँगै बुढा सयपत्री फूलको माला बुन्न व्यस्त हुनुभएको हो ।

तिहारका लागि फूलको मालाको अर्डर आउनुका साथै बिक्रीका लागि माला तयार गर्नुपर्ने भएपछि माला बुन्न थालेको बुढा बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘फूल टिपेर माला बनाउन सुरु गरेका छौं । मालाका लागि अर्डर पनि आइरहेको छ ।’ उहाँका अनुसार माला प्रतिपिस ८० देखि दुई सय रुपियाँसम्मका लागि बनाइएको बताउनुभयो । 

करिव १२ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गर्नुभएकी बुढाले यो बर्ष फूल राम्रो भएकाले  आम्दानी बढ्ने आशामा रहनुभएको छ । व्यवसायी बुढाले भन्नुभयो, ‘तिहार सुरु भइसक्यो, मालाको माग पनि भइरहेको छ । त्यहीअनुसार सबै मिलेर माला बनाउने काममा जुटेका छौ ।’ 

घोराही उपमहानगरपालिका–१४ झिगौरा निवासी लोकेन्द्र रोका पनि फूल टिपेर माला बनाउन थालेको बताउनुभयो । जिल्ला भित्रसँगै बाहिरबाट समेत फूलको मालाको माग भएकाले माला बनाउन लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार फूल अर्डर गर्नेलाई फूल माला लग्न चाहनेलाई माला नै बनाएर विक्री गर्ने तयारीमा रहेको बताउनुभयो ।  

तिहार सुरु भएसँगै व्यवसायी माला तथा फूल विक्रीमा जुट्नुभएको छ । त्यसमध्ये कतिपय व्यवसायीहरुले फर्मबाटै र कतिपय व्यवसायीहरुले बजारका मुख्य चोकहरुमा स्टल राखेर समेत तिहारका लागि फूलहरु विक्री गरिरहनुभएको छ । केही वर्षअघिसम्म थोरै फूल खेती हुने भएकाले विक्रीका लागि समस्या नहुने भए पनि यो वर्ष बढेकाले बिक्रीको समस्या हुने होकी भन्ने चिन्ता समेत थपिएको उहाँले बताउनुभयो । 

यो वर्ष जिल्लाका घोराही, तुलसीपुर र देउखुरी क्षेत्रमा व्यावसायिक रुपमा फूल खेती गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करिब २५ बिघामा फूल खेती गरिएको छ ।