केदार तिमल्सिना
काभ्रेपलान्चोक, कात्तिक २७ गते । काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका-६ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा चौरीदेउरालीको बोक्सेबाट रामेछापतर्फ जाँदैगरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल बोक्से काभ्रे पाखामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
दुर्घटनामा चौरीदेउराली गाउँपालिका-६ बस्ने मोटरसाइकलको पछाडि बस्ने अन्दाजी ४५ वर्षकी गोमा चौलागाईंको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले घटनामा मोटरसाइकल चालक ४८ बर्षका डिल्लीप्रसाद चौलागाईको आँखा माथि र टाउकोमा चोट लागेको र उहाँको अवस्था गम्भीर रहेको बताउनुभयो । गम्भीर घाइते डिल्लीको कार्तिकेदेउरालीस्थित धुलिखेल अस्पतालको आउटरिच सेन्टरमा उपचार भैरहेको प्रनाउ श्रेष्ठले बताउनुभयो ।