हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक २७ गते । मोरङको उर्लाबारी–७, इटरोडस्थित दीपक कार्कीको सुन पसलमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवको कार्यकक्षमा सोमबार बिहान बसेको आकस्मिक बैठकपछि घाइतेको थप उपचारका लागि काठमाडौँ पठाउने निर्णय भएको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासकाअनुसार उर्लाबारी–७ का विशाल बस्नेत, शिवकुमार विक, रामनरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, कैलाश गुरुङ, नेत्र भण्डारी, राजन लुइटेल र तारामान सेरेङलाई नेपाली सेनाको जहाजबाट काठमाडौं पठाइएको हो ।
यस्तै नेपाली सेनाको जहाजमा काठमाडौँ पठाइएका घाइतेमा कुमार तामाङ, अलिबाबु मन्सुर हुनुहुन्छ । यसैगरी भोजपुर नगरपालिका वडा ४ का प्रसनि चुडामणि प्रधान, कनकाई नगरपालिका वडा ५ का प्रहरी जवान (प्रज) दिलकुमार आचार्य र संखुवासभाको सिलिचोङ गाउँपालिका वडा १ का प्रज ऋद्धिकिरण राईलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
उहाँहरूको विर्तामोडको बीएण्डसी र विराटनगरका विभिन्न ३ वटा अस्पतालमा उपचार भइरहेको थियो । उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाका वारुणयन्त्र उर्लाबारी–३ स्थित लक्ष्मी थापाको गोठमा लागेको आगो निभाउन घटनास्थलमै रहेको बेला उर्लाबारी –७ को सुन पसलमा समेत आगलागी भएको थियो ।
दमक नगरपालिका, कमल गाउँपालिका र कानेपोखरी गाउँपालिकाका वारुणयन्त्र घटनास्थलमा पुग्न ढिलो हुँदा आगो नियन्त्रणमा लिन स्थानीय र प्रहरीले प्रयास गरेका थिए । सोही क्रममा घरभित्र रहेको बा–१–०२५–च ६८४६ नम्बरको कार बिस्फोट हुँदा २८ जना घाइते भएका थिए ।