राममणि दाहाल
हेटौँडा, कात्तिक २७ गते । सस्तोमा मोटरसाइकल मिलाइदिन्छु भन्दै जङ्गलमा लुटपाट गर्ने व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको कैलाश गाउँपालिका वडा २ वैकुण्ठ खारेटोल बस्ने वर्ष ३१ का टोकल माईला भन्ने रुद्र मोक्तानलाई सोमबार पक्राउ गरिएको हो ।
यस्तै प्रहरीले यसअघि कैलाश गाँउपालिका-२ वैकुण्ठ बोटटोल बस्ने वर्ष २५ का विशाल मोक्तानलाई आइतबार पक्राउ गरेको थियो । गत शुक्रबार मकवानपुरको थाहा नगरपालिका-३ भञ्जाङडाँडास्थित खाप्चेखोलामा रहेको जङ्गलमा एक वर्षअघि काठमाडौंमा घर बनाउने कामको क्रममा चिनजान भएका विशाल तामाङले सस्तोमा २०० सीसीको मोटरसाइकल मिलाई दिन्छु भन्दै ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका-५ घर भई हाल झापा भद्रपुर नगरपालिका-३ बस्ने नरेन्द्र लिम्बुलाई बोलाई लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रुद्र र विशालले हतियारजस्तो कालो बस्तु देखाई नरेन्द्र लिम्बुको साथमा रहेको नगद ३० हजार र भिभो कम्पनीको मोबाइल सेट एक थान डाँका चोरी र लुटपाट गरी फरार भएको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
कैलाश गाउँपालिका-२ मा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीको भनाइ छ । प्रहरीले लुटपाटभएको रकममध्ये १४ हजार ५० रुपियाँ बरामद गरेको जनाएको छ ।