• २२ वैशाख २०८१, शनिबार

पर्यटक लोभ्याउँदै वराह ताल

blog

मालिका ७ बिममा रहेको सुन्दर बराह ताल । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक २७ गते । गोलो आकारको सुन्दर वराह तालले पर्यटकीय सम्भावना बोकेको छ । मालिका गाउँपालिका–७ बिमबाङमा रहेको सुन्दर वराह तालले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।

मालिका धुरी मन्दिरको प्रवेशद्वारमा रहेको तालले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । स्थानीय तहले तालको संरक्षण र प्रचार प्रसार गरेर पर्यटक तान्ने योजना बनाएको छ । ताल वरिपरि ढुङ्गाले चिटिक्क पारेर पर्खाल लगाइएको छ । तालको छेउमै वराह थान छ ।  

तालमा रहेको जलवराहाको पूजाआजा तथा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको स्थानीयहरु बताउँछन् । तालबाट धौलागिरि हिमशृङ्खलाको दृश्य सुन्दर देखिन्छ । ताल साढे तीन मिटरभन्दा गहिरो र समुन्द्री सतहदेखि करिब दुई हजार ३०० मिटरको उचाइमा छ ।

वराह ताललाई धार्मिक र पर्यटकीय गन्तव्यस्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेकाले मालिकाधुरी मन्दिर, प्रभुचेला र ताललाई समेटेर पालिकाले आकर्षक पर्यटकीय गन्तव्यको सर्किट बनाउने योजना अघि सारेको गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताउनुभयो ।