• ११ मंसिर २०८१, मङ्गलबार

क्रिकेटर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन

blog

क्रिकेटर गुल्सन झालाई अभिनन्दन गरिँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, कात्तिक २७ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई सोमबार गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ । 

नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा अलराउण्ड प्रदर्शन गरेका झालाई प्रोत्साहनस्वरुप नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले सदरमुकाम मलङ्गवामा अभिनन्दन गरेको हो । 

चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका गुल्सनको परिवार अहिले सदरमुकाम मलङ्गवा नगरपालिका–८, मा बसोवास गर्दैआएको छ । पछिल्लो पटक भएका क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको सान बढाउन गरेको  योगदानको कदर तथा थप हौसला प्रदान गर्न क्रिकेटर झालाई अभिनन्दन गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

अध्यक्ष क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो लगायतले जिल्ला समन्वय समितिको सभाहलमा झालाई सम्मान गर्नुभएको हो । 

कार्यक्रममा नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले सरकारले गर्नुपर्ने अभिनन्दनको काम नेपाल पत्रकार महासङ्घले गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले राष्ट्रको सम्पत्तिलाई सम्मान गर्ने कार्यमा पत्रकार महासङ्घले नेतृत्व गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।  

सीडीओ धमलाले पछिल्लो समय नेपाली क्रिकेटको गति उज्यालो गन्तव्यतर्फ अगाडि बढिरहेको बताउनुभयो । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले राज्यले नदेखेको विषयमा चौथो अङ्गको आँखा परेको बताउनुभयो । 

उहाँले सर्लाहीका गाउँ–गाउँमा गुल्सनजस्तै क्षमता भएका र सम्भावना बोकेका खेलाडी रहेको उल्लेख गर्दै ती खेलाडीलाई पनि अवसरको खाँचो रहेको बताउनुभयो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले छठलगत्तै सदरमुकाम मलङ्गवामा गुल्सनलाई बृहत अभिनन्दन गर्ने तयारी भइरहेको बताउनुभयो । 

सिंहले नेपालको अब प्रमुख खेल नै क्रिकेट बन्ने आधार देखिएको बताउनुभयो ।  क्रिकेटर झालाई अभिनन्दन गर्न आयोजित कार्यक्रममा भैरवीदल गण पाँचकुमारीका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक प्रवीण धिताल, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्व अध्यक्षहरु विश्वनाथ ठाकुर, रोशन न्यौपाने र शङ्कर श्रेष्ठ, सर्लाही क्रिकेट सङ्घका कोषाध्यक्ष तुलसी यादव, गुल्सनका पिता अखिलेशकुमार झालगायतको उपस्थिति थियो ।