• १३ मंसिर २०८१, बिहिबार

भूकम्पपीडितलाई रामदेवको आठ ट्रक राहत सामग्री

blog

पतञ्जली योग समितिले भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्दै । तस्बिर.सहदेव बस्नेत

सहदेव बस्नेत 

जाजरकोट, कात्तिक २७ गते । योग गुरु रामदेवले जाजरकोटका भूकम्पपीडितलाई आठ ट्रक राहत सामग्री पठाउनुभएको छ । पतंञ्जली योगपिठ हरिद्वार उत्तराखण्ड भारतबाट विभिन्न राहत सामग्री लिएर सोमबार ट्रक आइपुगेको हो । 

स्वामी रामदेवजी महाराज र आचार्य बालकृष्णजीको तस्बिर अंकित राहत सामग्री बोकेका ट्रक जाजरकोट पुगेको छ । पतञ्जली योग समिति नेपालका अध्यक्ष लबदेवका अनुसार आठ ट्रकमा ५० टन राहत सामग्री रहेको छ । ६ हजारभन्दा बढी परिवारका लागि करिब दुई करोड रुपियाँ बराबरको राहत सामग्रीमा त्रिपाल, कम्बल, भाँडावर्तन, खाद्यान्न, लत्ताकपडालगायतका सामग्री छ । 

विपत्तीको बेला मानवीय सेवा गर्ने हेतुले स्वामी महाराज रामदेवजीको अग्रसरतामा राहत सामग्री आएको उहाँले बताउनुभयो । यसका साथै पताञ्जली योग समिति नेपालले भूकम्प गएको दुई दिनपछि जाजरकोटका तीन स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिरहेको छ । 

भेरी ३ को थाप्ले  र नलगाड १ को चिउरी तथा कैनामा विहान बेलुका यस समितिले निःशुल्क खाना खुवाइरहेको छ । यी दुई स्थानमा मेस सञ्चालन गरेर दैनिक दुई हजार जनालाई खाना खुवाइरहेको अध्यक्ष लबदेवले बताउनुभयो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पतञ्जली योग समितिले भुकम्पपीडितलाई खाना खुवाउने व्यवस्था गर्दा  निकै राहत भएकोे बताउनुभयो ।