• १४ मंसिर २०८१, शुक्रबार

आगलागीका घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइँदै

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, कात्तिक २७ गते । मोरङको उर्लाबारी–७, इटरोडस्थित दीपक कार्कीको घरमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये केहीलाई थप उपचारका लागि काठमाडौं लगिनेभएको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवको कार्यकक्षमा सोमबार बिहान आकस्मिक बैठक बसेर सो निर्णय गरिएको हो । बैठकमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थिति रहेको थियो । 

बैठकले गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । आगलागी नियन्त्रणमा लिने प्रयास गर्दा घरभित्र रहेको बा.–१–०२५–च ६८४६ नम्बरको कार बिस्फोट हुँदा २८ जना घाइते भएका थिए । 

घाइतेमध्ये १२ जनाको बीएण्डसी अस्पताल विर्तामोड, ५ जनाको आर्या न्युरो बिराटनगर, ७ जना बिराट नर्सिङ होम विराटनगर र ३ जनाको रेडप्लस अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । लाइफलाइन दमकमा उपचार भइरहेका उर्लाबारी –५ का ५५ वर्षीय रवि तामाङ भने बिहान डिस्चार्ज हुनु भएको छ । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले विज्ञप्ति जारी गर्दै घाइतेको विवरण सार्वजनिक गर्नुभएको छ । उहाँका अनुसार घाइते हुनेमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी जवान दिलकुमार आचार्य र ऋदिकिरण राईको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

उनीहरुको दुबै हातको हत्केला, अनुहार, पिडुला लगायत विभिन्न भागमा जलन भएको छ । त्यस्तै, उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ शरीरको विभिन्न भाग जलेको छ भने उहाँको अवस्था गम्भीर रहेको जनाइएको छ । १४ वर्षीय अलि बाबु मन्सुरको दुबै खुट्टा, हातमा पोलेको, अवस्था मध्यम रहेको छ । उहाँहरुको आर्या न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

त्यस्तै, उर्लाबारी–७ का २३ वर्षीय  विशाल बस्नेतको अनुहार, हात , ३१ वर्षीय शिवकुमार विकको अनुहार, हात र छाती, ४३ वर्षीय रामनरेश मरिताको टाउको, अनुहार र छाती, ५३ वर्षीय  दिनेश शर्माको अनुहार, छाती र दुबै हातमा जलन छ । घरधनी ४६ वर्षीय  दिपेन्द्र कार्कीको दुवै हात, छाती पोलेको छ भने २१ वर्षीय सुमन चौधरीको अनुहार, हात र छातीमा पोलेको, ६४ वर्षीय कैलाश गुरुङको हात र खुट्टामा जलन भएको छ । उहाँहरूको बिराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।

त्यस्तै, उर्लाबारी–७ बस्ने ३१ वर्षीय सुजन सेन्दाङ अनुहार दुबै हात, प्रहरी सहायक हबल्दार मनबहादुर घिसिङको शरीरको विभिन्न भागमा ,उर्लाबारी–७ कै  ४० वर्षीय लालबहादुर लिम्बूको हात खुट्टा, ४३ वर्षीय कबिराज दाहाल, ४३ वर्षीय तपन पण्डित, २६ वर्षीय बिक्रम साह, ३४ वर्षीय प्रकाश लिम्बू, ६८ वर्षीय रुकुमबहादुर कार्की, ३७ वर्षीय नबिन थापा, ४९ वर्षीय हेमकुमार दाहालको शरीरको विभिन्न भागमा जलेको छ । 

उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, उर्लाबारी–७ कै १५ वर्षीय करण संग्रौला हातखुट्टा अनुहारमा जलेको छ । ३८ वर्षीय फोर सन्जितको हातखुट्टा जलेको छ । उहाँहरुको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

यसैगरी उर्लाबारी–७ का ४२ वर्षीय तारामान सेरेङको अनुहार, दुबै हात खुट्टा, ३५ वर्षीय राजन लुईटेलको अनुहार, हात जलेको छ । उर्लाबारी– ८ बस्ने ३६ वर्षीय नेत्र भण्डारीको अनुहार, ढाड, हात जलेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

आगलागीबाट कार्कीको स्नेहा ज्वेलर्स जलेर नष्ट भएको छ । कारसँगै पार्किङ गरिएको मे ८ प ६५०६ नम्बरकाे मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । डेढ घण्टामा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । दमक, गौरादह नगरपालिका, कानेपोखरी र कमल गाउँपालिकाका दमकलले डेढ घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।