• १२ मंसिर २०८१, बुधबार

नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

blog

कराते खेलाडी एरिका गुरुङ

काठमाडौं, कात्तिक २७ गते । चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज  सम्मानित हुनुभएको छ । एसएस फाउन्डेसनद्वारा सोमबार यहाँ आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई सम्मान गरिएको हो ।

सम्मानस्वरुप उहाँले रू ३१ हजार पुरस्कार प्राप्त गर्नुभयो । एरिकाले गत असोजमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ६८ केजी तौल समूहमा नेपाललाई रजतपदक दिलाउनुभएको थियो । 

एसियाली खेलकुदको इतिहासमा नेपालका लागि एरिकाले तेस्रोपटक रजतपदक दिलाउनुभएको हो । त्यस्तै एसियाली खेलकुदमा नेपालले कराँते खेलमा भने पहिलो रजतपदक जितेको थियो । यसअघि तेक्वान्दो खेलबाट सविता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजतपदक जितेको थियो ।

एरिकाले मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने मनोबलले यो पदक दिलाएको भन्दै यस किसिमको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताउनुभयो । उहाँले आगामी दिनमा खेल क्षेत्रमा अझ उत्कृष्ट खेल्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।  

कार्यक्रममा कराते खेलका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ पनि सम्मानित हुनुभयो । सम्मानस्वरुप उहाँले रू ३१ हजार प्राप्त गर्नुभयो । उहाँले नेपाली खेलाडीको रगतमा साहस र वीरताको प्रतिक रहेको भन्दै मार्सल आर्ट खेलले सफलता भित्र्याउँदै आएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद पशुपति शमशेर जबराले आम नेपाली जनतालाई तिहार र छठको शुभकामना दिँदै नेपालले अन्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न नसके पनि खेलकुद क्षेत्रमा सफलता हासिल गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपालकी १९ वर्षीया एरिकाले सानै उमेरमा यस किसिमको सफलता पाउनु गर्विलो विषय भएको उहाँको भनाइ थियो ।  रासस