• १५ मंसिर २०८१, शनिबार

पर्यटकको नयाँ गन्तब्य बन्दै माझुभञ्ज्याङ

blog

पर्यटकीय नयाँ गन्तब्य माझुभञ्ज्याङ । तस्विर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक २७ गते । देशकै पहिलो होमस्टे सिरुबारी, धार्मिक पात्र श्रवणकुमारलाई राजा दशरथले बाण हानेको स्थल लगायतका प्रख्यात पर्यटकीय स्थल आँधीखोला गाउँपालिकामा पर्छ । त्यहाँस्थित माझुभञ्ज्याङमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्नेगरेको छ । 

पालिकाले थप पर्यटकीय गन्तव्य स्थलको पहिचान र प्रवर्धन गर्न गुरुयोजना तयार पारेर नयाँ पर्यटकीय गन्तव्यको विकासमा सक्रियता देखाएको छ । पछिल्लो समय आँधीखोला –१ को माझुभञ्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्यस्थल बनाउन पूर्वाधार विकासको काम तीव्र पारिएको छ । 

पालिकाभित्र पर्यटक भित्र्याउने र पालिकावासीलाई आयआर्जनसँग जोड्न नेपाल पर्यटन बोर्डको साझेदारीमा माझुभञ्याङलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन खोजिएको हो । जीविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) कार्यक्रम अन्तर्गत आँधीखोला गाउँपालिका र नेपाल पर्यटन बोर्डको साझेदारीमा माझुभञ्याङलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन खोजिएको छ । 

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले नेपालकै पहिलो होमस्टे सिरुबारीको प्रवेशद्वारमा रहेको माझुभञ्याङको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा रखिएको बताउनुभयो । प्राकृतिक हिसाबले निकै मनोरम यस क्षेत्रमा थाप्ले, माझुभञ्जयाङ, गोरुजुरे हुँदै डहरे देउरालीसम्म पैदल मार्ग र साइक्लिङ ट्रेलको निर्माणकार्य धमाधम अघि बढेको पौडेलले बताउनुभयो । 

उहाँले कम्तीमा पालिका छिर्ने पर्यटकलाई एक दुई दिन बसेर मनोरञ्जन लिने अवस्था बनाउने तयारीमा लागेको बताउनुभयो । यहाँ आउने पर्यटकलाई यहीको उत्पादन कोसेलीको रुपमा बिक्री गर्न कोसेली घर पनि निर्माण गर्न थालिएको छ ।  

वडा १ का अध्यक्ष पवनकाजी अधिकारीले यस्ता पर्यटकीय क्षेत्रबाट यहाँको उत्पादन खपत हुने र आयआर्जनसँग गाउँपालीकावासी जोडिने बताउनुभयो । माझुभञ्जयाङको पूर्वाधार विकास गर्न नेपाल पर्यटन बोर्डले २७ लाख र पालिकाले ४५ लाख रकम लगानी गरेको छ । उत्पादित बस्तुको बिक्री वितरण आफ्नै डाँडापाखामा हुने भएपछि पालिकावासी निकै हर्षित छन् । 

अहिले सिरुबारी आउने पर्यटक मात्र होइन, स्थानीयहरु पनि वनभोज खान, टिकटक बनाउन, हिमदृश्य अवलोकन गर्न माझुञ्जयाङलाई रोज्नेगरेका छन् । यस्ता पर्यटकीय क्षेत्रले आगन्तुकलाई आनन्दित मात्र तुल्याएको छैन, स्थानीयहरु पनि आयआर्जनसँग जोडिएका छन् ।