शशिधर पराजुली
विराटनगर, कात्तिक २७ गते । मोरङको उर्लाबारी –७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका छन् । सोमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
आगलागीमा परेर घाइते हुनुभएका कुमार तामाङ, सुमन चौधरी र तारामणि लिम्बूको अवस्था गम्भीर रहेको स्थानीयको भनाइ छ । लक्ष्मीपूजाको राति कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि खटिएका प्रहरी र स्थानीय घटनामा घाइते भएका हुन् ।
आगलागी नियन्त्रणको प्रयासमा जुटेका सुरक्षाकर्मी र स्थानीय तथा आगलागी भएपछि बाहिर जम्मा भएका स्थानीयलाई आगोको लप्काले भेट्टाएको थियो । सुन पसलभित्रको ग्यास सिलिण्डर विस्फाेट हुँदा आगोको लप्का बाहिर निस्किएको र त्यसले धेरैलाई घाइते बनाएको प्रहरीको अनुमान छ ।
आगलागीबाट घाइते भएकाहरुको उद्धार र उपचारमा प्रदेश सरकारले तत्काल पहल गरेको छ । मुख्यमन्त्री कार्यालयले दिएको विवरणअनुसार घाइतेहरुमध्ये विराटनगरको आर्या न्युरो अस्पतालमा रिद्दीकिरण राई र कुमार तामाङको आइसियुमा राखेर उपचार भइरहेको छ । तामाङको अवस्था गम्भीर रहेको बताइएको छ । सोही अस्पतालमा सलिम मन्सुरी, दिलकुमार आचार्य, चूडामणि प्रधानको उपचार भइरहेको छ ।
यसैगरी विराटनगर अस्पतालमा दिनेश शर्मा, शिवकुमार विक, दिपेन्द्र कार्की, सुमन चौधरी, रामेश्वर मरिच, विशाल बस्नेत, कौशल गुरुङको उपचार भइरहेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । चौधरीलाई थप उपचारका लागि विराटनगर बाहिर लैजाने तयारी गरिएको छ ।
विराटनगरको रेडप्लस अस्पतालमा नेत्र भण्डारी, तारामणि लिम्बू र राजन लिम्बूको उपचार भइरहेको छ । उनीहरुमध्ये तारामणि लिम्बूको अवस्था गम्भीर रहेकाले विराटनगर अस्पतालमा सार्ने तयारी भइरहेको जानकारी दिइएको छ ।
आगलागीमा परी नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवल्दार र दुई जना प्रहरी जवान घाइते हुनुभएको छ । घटनामा अरु २४ जना सर्वसाधारण घाइते हुनुभएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।
केही घाइतेहरुको झापाको बीएमसी, दमकको लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ‘घाइतेहरुमध्ये केहीको ५० प्रतिशतसम्म शरीर जलेको छ’ प्रवक्ता दाहालले बताउनुभयो । आइतबार राति ९ बजेतिरबाट सुरु भएको आगलागी राति १२ बजेपछि मात्र नियन्त्रणमा आएको थियो ।