राजन रावत
हुम्ला, कात्तिक २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको खाद्यान्न गोदाम रित्तो भएको छ । अघिल्लो आर्थिक वर्षको खाद्यान्न मौज्दात नभएको र चालु वर्षको निर्धारित कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नपाएपछि गोदाम रित्तो भएको बताइएको छ ।
लिमिटेड सिमकोट शाखाको प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात ज्यादै कम भएकाले तिहारका बेला पनि बिक्री गर्न नसकिएको बताउनुभयो । उहाँले सर्वसाधारणका लागि बिक्री गर्नका लागि गोदाम रित्तै भुन्नुपर्ने अवस्था आएको बताउनुभयो ।
हाल गोदाममा अघिल्लो आर्थिक वर्षको खाद्यान्न दुईसय क्विन्टल मात्र भएको र त्यो पनि भैपरी आउने कामका लागि मात्र बिक्री गर्न मिल्ने उहाँले बताउनुभयो । मुख्य गरी यस आर्थिक वर्षको खाद्यान्न हवाई मार्गको सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगञ्जबाट चार हजार क्विन्टल कोटा निर्धारण भएकोमा हालसम्म ढुवानी हुन सकेको छैन ।
लिमिटेडले उक्त खाद्यान्न ढुवानी प्रक्रियामा ढिलाइ गरेकाले नयाँ कोटाको खाद्यन्न ढुवानी हुन नसकेको बताइएको छ । साउनबाट ढुवानी हुनुपर्नेमा भदौ महिनामा आएर बोलपत्र आह्वान भएको र जसमा सुर्खेत र नेपालगंजबाट हवाई मार्गको खाद्यान्न ढुवानीका लागि आसयपत्र सिम्रिक एयरको हेलिकोप्टर छनौट भएको छ । सो एयरलाईन्ससँग सम्झौता समेत भइनसकेका कारण तिहार अघि खाद्यान्न ढुवानी हुने अवस्था नबनेको बताइएको छ ।
तिहारपछि सम्झौता प्रक्रिया अगाडि बढ्ने अनि मात्र खाद्यन्न ढुवानीको औपचारिक बाटो खुल्नेछ । सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँ र नेपालगञ्जबाट प्रतिकेजी १४३ रुपियाँ ढुवानी दर हेलिकोप्टरले हालेको छ । उक्त खाद्यान्न ढुवानी नहुँदासम्म शाखाले सर्वसाधारणका लागि खाद्यान्न बिक्री गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।
गतवर्ष पनि उक्त कम्पनीले नेपनलगञ्ज र सुर्खेतबाट पैदल मार्गबाट गाडीमा सलीसल्लासम्म र त्यताबाट सिमकोट विमानस्थलसम्म हेलिकोप्टरमा खाद्यान्न ढुवानी गरेको थियो ।