• १५ मंसिर २०८१, शनिबार

तीन पुस्ते भेडापालन व्यवसायमा रमाउँदै कृषक

blog

लोकल जातको रैथाने भेडा ।

प्रनिश गिरी 

कुश्मा (पर्वत), कात्तिक २७ गते । पर्वतको कुश्मा नगरपालिका एक कृषक आफ्नो हजुरबादेखि सुरु गरिएको रैथाने काय जातिको भेडापालन व्यवसायलाई गतिलो आम्दानीको स्रोत बनाउँदैआएका छन् । 

कुनै बेला पैसा कमाउन खाडी मुुलुक कतार र भारतको पञ्जाब पुगेर दुःख गरेका कृषक ४७ वर्षे कृष्ण पौडेल अहिले गाउँघरमै खुशी छन् । कुश्मा नगरपालिका १२ मा पर्ने ठूलीपोखरी गाउँमा अहिले पनि युवाहरु कामको खोजीमा खाडी मुलुक र भारतको मद्रासतिर जानेको सङ्ख्यामा कमी आउन सकेको छैन । 

कृषक पौडेल भने भेडापालन र खेतीपातीबाट हुने मासिक न्यूनतम ६० हजार कमाइ गरी गाउँघरमै रमाएर बस्नुभएको छ । कतारमा रहँदा सिमेन्ट फ्याक्ट्रीमा काम गरेको बताउने कृषक पौडेल भन्नुहुन्छ, “आफ्नै गाउँघरमै बसेर दुई पैसा आर्जन गर्ने बाटो हुँदाहुँदै अर्काको आदेशअनुसार गुलाम गर्न विदेश धाउनु राम्रो हैन । यहाँ गर्ने जति दुःख घर गएर गरे राम्रो हुने भनी भिसाकाे म्याद बाँकी हुँदाहुँदै फर्केको हो ।” 

हजुर बा तोरणध्वज बगालेको पालादेखि थालिएको भेडापालन व्यवसाय २०६५ तिर तीन वटामा सीमित भएको थियो । विदेशबाट आइसकेपछि कृषक पौडेलले टुङ्गिन थालेको भेडापालन व्यवसायलाई फेरि सुरुवात गरेको पाइन्छ । पहिले ९० वटासम्म भेडापालन गरेका कृषक पौडेलसँग अहिले माउ र पाठा गरी ३५ वटा भेडा छन् । 

भेडा बस्नका लागि काठ, ढुङ्गा र माटोले बनाएको व्यवस्थित गोठ घर नजिकै छ । चरनको अभाव र घरमा काम गर्ने मानिस नहुँदा भेडाको सङ्ख्या घटाउनुपरेको कृषकको भनाइ छ । भेडालाई घरमै उत्पादन हुने मकैको आटो र नुन खुवाउने गरिन्छ ।

वर्षमा दुई पटक व्याउने र धेरै भेडाले एकै पटक दुईवटा पाठा जन्माउदा पनि कृषकलाई लाभ भएको छ । भैंसीलाई बाली लगाउन गरिने राँगो पालन पनि कृषक पौडेलको तीन पुस्ते व्यवसाय रहँदैआएको छ । खाडी मुलुक कतारमा बस्दा वर्षमा डेढ लाख मात्रै कमाइ गरेको बताउने कृषक पौडेलका अनुसार भेडा र राँगो पालनबाट मात्रै वर्षेनी न्यूनतम ७ लाख रकम कमाइ हुन्छ ।

कृषकलाई भेडा विक्रीका लागि कुनै समस्या नै छैन । भेडा मासु खानका लागिभन्दा पनि झाँक्री पूजामा विक्री गरिन्छन् । एउटा भेडा न्यूनतम ८ हजारदेखि २० हजारसम्ममा विक्री हुन्छ । जेष्ठ र मङ्सिर महिनामा हुने झाँक्री पूजामा अधिकांश भेडाको उपयुक्त मूल्यमा विक्री गर्ने कृषक पौडेलले बताउनुभयो । झाँक्री पूजाका लागि ब्राह्मण, क्षेत्री, मगर सबै जातिका मानिसले भेडा खरीद गर्नेगरेका छन् ।