• ११ मंसिर २०८१, मङ्गलबार

कोरला नाका सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह

blog

कोरला नाकामा चीनबाट ल्याइएका सामग्रीहरु लोड गर्दै स्थानीयहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २७ गते ।
चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आज (सोमबार)देखि नियमित रुपमा सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङमा उत्साह छाएको छ ।

सोमबार बिहान १० बजेदेखि औपचारिक रुपमा कोरला नाका सञ्चालनमा ल्याइएको हो । नाका सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुले सस्तोमा  चिनियाँ सामान आयत गर्न पाएपछि खुसी भएका छन् ।

कोराेना महामारीका कारण नाका बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन प्रभावित बनेको थियो । यहाँ प्रायजसो चीनका सामानहरु उपभोग गरिन्छ । पोखरा, बेनी हुँदै माथिल्लो मुस्ताङ पुगेका सामान तेब्बर महँगाे हुन्छ । नाका सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तुहरु, लत्ताकपडा र निर्माण सामग्री सुलभ दरमा आयत हुने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विगत चार वर्षदेखि नाका पूर्णरुपमा बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन कष्टकर बन्यो । सामानहरु धेरै महँगाे मूल्य तिरेर ल्याउनुपर्ने बाध्या थियो । अब नाका नियमित रुपमा सञ्चालनमा आएसँगै चीनतर्फबाट धेरै सस्तोमा सामान ल्याउन पाइने भएको छ ।’’ नाका सञ्चालन भएसँगै माथिल्लो मुस्ताङका स्थानीयहरु खुसी भएको उहाँको भनाइ छ ।

लोमान्थाङका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि अनुमतिपत्र वितरण गरिएको छ । अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारणहरु कोरला नाकामा आवतजावत गर्न पाउँछन् ।

नाका सञ्चालनमा आएपछि स्थानीयहरु उत्साहित भएको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ भार्चाका वडाध्यक्ष कर्म नामगेल गुरुङले बताउनुभयो । सोमबार नाकाबाट दैनिक उपभोग्य वस्तुहरु आयत भएको उहाँको भनाइ छ । चीन सरकारको सहयोगमा कोरला नाकामा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का लागि संरचना निर्माण गरिएको छ ।