अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २७ गते । कालिगण्डकी गाउँपालिका-१ प्युघामा गए राति डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बुटवलबाट करी कोट जाँदै गरेको ग १ ज ७६०४ नं. को जिप उकालोमा अचानक ब्याक हुन जाँदा सडकबाट अन्दाजी २५-३० मिटर तल खस्दा जिपमा सवार चालक सहित सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा कालिगण्डकी-१ का ५२ बर्षिया अति कुमारी गाहा, जिप चालक २४ वर्षीय आशिफ पाण्डे, ३७ वर्षीया जमुना रेश्मी, २४ वर्षीया माया राना, बाणगंगा नपा १० कपिल्वस्तु बस्ने ७४ वर्षीय तुलसीराम गाहा, भुमिसरा गाहा, सुनवल नपा १० कीर्तिपुर नवलपरासीकी २० वर्षीया अञ्जना रेग्मी रहेको प्रहरी निरीक्षक पहल सिहँ लामाले जानकारी दिनुभयो ।
घाइते सबैको अवस्था मध्यम रहेको र सात जनाको मिर्मी अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । चालक पाण्डेको सामान्य उपचार पश्चात् प्रहरी नियन्त्रणमा लिएको लामाले जानकारी दिनुभयो ।