• ११ मंसिर २०८१, मङ्गलबार

तिहार नमनाउने मैकोट गाउँ

blog

पुथाउत्तरगङ्गा–१ मैकोट गाउँ यहाँका स्थानीयले तिहार मनाउँदैनन् । तस्बिर: जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व, कात्तिक २६ गते । यतिबेला सबैतिर तिहारको रमझम छ । तिहारको तयारीमा सबै गाउँ तथा सहरका मान्छे जुटेका छन् । तर, रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ वडामा भने तिहारको कुनै मतलब छैन । यहाँका वडावासी परापूर्व कालदेखि नै तिहार मनाउँदैनन् । 

वडाध्यक्ष वीरमान कामीका अनुसार पुर्खाले नै तिहार मान्नुभएन त्यस कारण हामी पनि तिहार मनाउँदैनौँ । वडाध्यक्ष कामीले भन्नुभयो, “धर्मको हिसाबले हिन्दु र क्रिस्चियनमा आस्था राख्ने समुदाय छौँ । क्रिस्चियन धर्म मान्नेले त तिहार नमान्नु स्वाभाविक हो तर हिन्दुधर्म मान्नेले पनि तिहार मनाउँदैनन् ।” 

पुथाउत्तरगङ्गा–१ नम्बर वडा थुप्रै हिमशृङ्खलाको काखमा अवस्थित वडा भएकोले हामीले स्थानीय शक्तिपीठलाई विश्वास मान्दै आइरहेकोले तिहारको महत्त्व नराखिएको वडाध्यक्ष कामीको भनाइ छ । त्यसका साथै यो समय भनेको वडावासीको मुख्य कामकाजको समय रहेको उहाँले बताउनुभयो । हिमालको काखमा अवस्थित यो गाउँमा चिसो बढिसकेको छ । बाक्लो हिमपात हुने यस ठाउँका सर्वसाधारण यो समय हिउँदको जाडो कटाउने मालसामान जुटाउने गरेको वडाध्यक्ष कामीले जानकारी दिनुभयो । 

यसका अतिरिक्त उहाँहरू अहिले हरिया घाँस काटेर सुकाउने, त्यसलाई थन्क्याउने र गाई वस्तुलाई गोठ हाल्ने (लेकबाट घर फर्काउने) काममा व्यस्त हुने गरेका छन् । वडाध्यक्ष कामीले भन्नुभयो, “तिहार आएको र गएको हामी वडावासीलाई मतलब हुँदैन ।” वडामा कसैले पनि तिहार मनाउने गरेको उहाँलाई थाहा छैन । फरक आस्था र धर्मका कारण नभएर तिहार मनाउने चलन नै गाउँमा नभएको वडाध्यक्ष कामीले बताउनुभयो । वडा नम्बर १ सँगै यस आसपासका वडावासीले पनि तिहारलाई खासै महत्त्व राख्दैनन्।