• १५ असार २०८१, शनिबार

‘कर सचेतनामूलक भिडियो प्रतियोगिता’

blog

तस्बिर : करदाता सेवा कार्यालय स्याङ्जा ।

राधाकृष्ण डुम्रे

वालिङ, कात्तिक २७ गते । करसम्बन्धी विविध जानकारीको अभावमा सेवाग्राही प्रभावित हुँदै गएको भन्दै स्याङ्जामा‘कर सचेतनामूलक भिडियो प्रतियोगिता’ गरिने भएको छ । 

करदाता सेवा कार्यालय स्याङ्जाले कर सप्ताहको अवसरमा सचेतनामूलक छोटो भिडियो प्रतियोगिता आयोजना गरेको हो । मङ्सिर १ गतेदेखि ७ गतेसम्म मनाइने कर सप्ताहको अवसर पारेर कर सचेतनामूलक सर्ट (छोटो) भिडियो प्रतियोगिता आयोजना गरिएको करदाता सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख विजय भुसालले जानकारी दिनुभयो ।

टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोग गरेर समेत भिडियो निर्माण गर्न सकिने प्रमुख भुसालको भनाई छ । भिडियो कर सचेतनामूलक हुनुपर्ने र एक मिनेटभन्दा छोटो हुनुपर्ने उहाँको भनाइ छ । 

भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिसकेपछि सञ्जालमा आउने प्रतिक्रिया र निर्णायकको निर्णयअनुसार विजेता घोषणा गरिने कर कार्यालयले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने सबैले आफूले निर्माण गरेको भिडियो मङ्सिर १ गतेभित्र कार्यालयमा प्राप्त हुने गरी इमेल वा ह्वाट्सएप गर्न सकिने भुसालले बताउनुभयो ।

कर सचेतनामूलक छोटो भिडियो प्रतियोगितामा उत्कृष्ट हुनेले नगद रु ५ हजार र अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । 

कर सप्ताहकै अवसरमा कार्यालयले विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको छ । प्रतियोगिता सहभागी हुन चाहने विद्यार्थीहरूले “देश विकासमा करको भूमिका” शीर्षकमा वक्तृत्वको विषयवस्तु समेटी आफ्नो, विद्यालयको नाम र सम्पर्क नम्बर सहित मङ्सिर १ गतेभित्र कार्यालयमा पठाउनु पर्ने करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख भुसालले बताउनुभयो । 

सहभागीले पठाएको विषयवस्तुको मूल्याङ्कन गरी उत्कृष्ट १२ जनालाई मङ्सिर ५ गते जिल्ला समन्वय समितिको सभा हलमा हुने प्रतियोगितामा सहभागी हुने मौका दिइने छ । 

पछिल्लो समय करदाता सेवा कार्यालय स्याङ्जाले करको दायरा फराकिलो बनाउँदै लगेको जनाएको छ ।