• ११ मंसिर २०८१, मङ्गलबार

संस्कृति जोगाउन हुक्कापातिको व्यापार

blog

सडक पेटीमा बेच्दै गरेको हुक्काहुक्की । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, कात्तिक २६ गते । सडकको छेउमा शान्तिदेवी तीन–चार दिनदेखि हुक्काहुक्की (हुक्कापाति) बनाउन व्यस्त हुनुहुन्छ । दिनभर खाना नास्ता खाएर हुक्काहुक्की बनाएर बेच्न व्यस्त शान्ति आम्दानीसँगै संस्कृतिलाई जगेर्ना गरिरहनुभएको छ । 

ग्रामीण क्षेत्रमा किसानले उत्पादन गरेको सनपाट (पटुवा वा जुट) को ठडरी (सन्ठी) बाट हुक्कापाति बनाउने गरिन्छ । अहिले मूल कृषक खेतीपाती गर्न छोडेर सहरमा बस्न थालेपछि हुक्कापाति खरिद गर्नुपरेको छ । 

सहरमा बसोबास गरिहरेको मानिसलाई हुक्कापाति बनाउन आवश्यक सामग्री नहुँदा खरिद गर्नुपरेको राजविराज निवासी डोमन साहको कथन छ । आफू हुक्काहुक्की बनाउन सीप जानेको बताउँदै उहाँले भन्नुभयो, ”नयाँ पुस्ताले हुक्काहुक्की बुझ्छन् की बुझुदैनन भन्न गाह्रो छ । सहरकेन्द्रित पुस्तालाई हुक्काहुक्की संस्कृतिलाई बुझ्न बुझाउन र यो परम्परालाई जीवन्तता दिन हुक्काहुक्की बनाएर बेच्नेगरेको बेचनीदवीको भनाइ छ । हुक्काहुक्कीको आकार प्रकारअनुसार १० देखि बढीमा ३० रुपियाँसम्ममा बेच्नेगरेको उहाँले बताउनुभयो ।

घरबाट दरिद्र भागोस्, शान्ति छाओस्, लक्ष्मीको वास होस् भन्ने विश्वासका साथ लक्ष्मीपूजा अर्थात् दीपावलीका दिन प्रत्येक घरको छानामाथि हुक्काहुक्की राखिने चलन रहेको बोयोबृद्ध सीतावीप्रसाद साहले बताउनुभयो । खेतमा धान काट्न सुरु गर्न र खानअघि थोरै धान काटेर ल्याइ भुटेर च्युरा बनाएर नमान (पूजा) गरिने उहाँले बताउनुभयो ।

हुक्कापातिको महत्त्व 

धन्यधान्यकी देवी लक्ष्मीपूजाका दिन साँझ खेलिने हुक्काहुक्कीको माग बढे पनि यसको महत्वबारे नयाँ पुस्ताका कमैलाई थाहा छ । दीपावली आधुनिक रङ्गीचङ्गीमा परिष्कृत भएपछि परम्परागत लोकसंस्कृतिलाई कम महत्त्व दिएका कारण हुक्काहुक्कीको महत्त्व कमलाई थाहा छ । तर पनि, हुक्काहुक्की अनिवार्य रूपमा चाहिने गरेको छ । 

मैथिली भाषामा बुढापाकाहरूका अनुसार हुक्कापाथि खेलै छि, मच्चर (दरिद्र) भगावै छि । अर्थात् हुक्काहुक्की खेलर घरबाट दरिद्रलाई भगाएर लक्ष्मीको बास होस भन्ने विश्वाससाथ हुक्काहुक्की खेलिने गरिन्छ । सो दिन बालबालिकाहरू हुक्काहुक्की खेलेर रमाइलो गर्छन् ।  

बनाउने तरिका 

जुट वा पटुवाको सन्ठी र राडी खर मिसाएर टुप्पोमा प्लसको (जोड) आकारमा जुटबाट नै बाँधेर आवश्यकताअनुसार लम्बाइमा हुक्काहुक्की बनाउने गरिन्छ । प्रत्येक घरको छानामा एक एक वटा हुक्काहुक्की राखिने गरिन्छ । तीमध्ये एउटा वा घरमा छोरा भएको सङ्ख्या अनुसार हुक्काहुक्की मुख फेर्न बनाएको हुन्छ । लक्ष्मीपूजाका दिन साँझ घरको जेठो छोरा वा सबै छोराले घरको देउता नजिक बालिएको दीपबाट हुक्काहुक्कीको टुप्पोमा आगो सल्काएर मन्त्रोच्चारण गर्दै बाहिर डगर, चौरहा वा खेतमा गएर फेर्ने (खेल्ने) गरिन्छ । त्यसपछि अन्य सदस्यले मात्र हुक्काहुक्की फेर्ने गरिन्छ । 

हुक्काहुक्की आधी जलेपछि भुईँमा राखेर तीन वा पाँच पटक नाधेर केही भाग लिएर तरकारी बारीमा गाड्ने चलन रहेको छ । यसरी आधा जलेको हुक्काहुक्की खेतबारीमा गाडिएपछि राम्रो फल्ने, कसैको आँखा नलाग्ने जनविश्वास रहेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषालगायत सबै जिल्लामा यसरी नै हुक्काहुक्की खेल्ने गरिन्छ । 

पहिले सहयोग अहिले बिक्री

परम्परागत रूपमा हुक्काहुक्की किन्ने र बेच्ने चलन थिएन । सबैको खेतमा थोरबहुत जुटको खेती हुन्थ्यो । सन्ठी निस्किएपछि हुक्कापाति बनाइन्थ्यो, बायोबृद्ध सीताबीप्रसाद साह भन्नुहुन्छ । जसको खेतमा जुटखेति हुदैन्थ्यो उनीहरूलाई सितैमा सहयोग गर्दथ्यौंं । अहिले पनि गाउँघरमा सितैमा मागेर बनाउँछन् तर सहरमा सहयोगको वातावरण पनि छैन । 

बुढापाकाले आफ्नो बालबालिका र छिमेकीको लागि पनि हुक्कापाती बनाएर खेल्न दिइन्थ्यो । तर अहिले यस्तो चलन हराएको उहाँको भनाइ छ । यस वर्ष शनिवारबाट तिहार सुरु भएको छ भने आइतबार लक्ष्मीपूजा वा दीपावली, सोमबार गोवर्द्धन पूजा र बुधबार भाइटीका परेको छ ।