होमराज रानाभाट
देबचुुली (नवलपरासी), कात्तिक २६ गते । पूर्वी नवलपरासीको दलदले बुलिगँटार सडकखण्डको देबचुली नगरपालिकाको गोरेघुम्तीमा आज ११ः१५ बजे भएको बोलेरो जिप दुर्घटनामा परी मृत्युभएका सबै सात शव आफन्तको जिम्मा लगाइएको छ ।
ग १ ज ३२७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई ओमराज अधिकारीको बन्दैगरेको घरमा ठोक्किएको थियो । जिल्लाको पर्खालबाट दलदले आउँदैगरेको बोलेरो जिप बिहान देबचुली नगरपालिका ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मिटर तल खसेर ओमराज अधिकारीको घरमा ठोक्किएको थियो ।
जिपमा सवार छ जनाको घटनास्थलमा नै ज्यान गएको थियो । एक जना घाइतेको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरूको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा बौंदीकाली गाउँपालिका ६ मझडाँडा बस्ने वर्ष २९ को बोलेरो चालक छनबहादुर आले मगर, सोही वडा लाहापेका वर्ष ५२ की कुमारी राना, सोही वडाकी वर्ष ५५ का टेकमन वानटक्की मगर, बुलिगँटार गाउँपालिका ४ चुलीबोझा बस्ने वर्ष १२ की करिश्मा ठाडा मगर र ४० वर्षकी कमला वान्टकी मगर रहनुभएको छ ।
त्यस्तै, कावासोती नगरपालिका १६ बस्ने वर्ष १७ का अश्विन गैरै र मध्यबिन्दु नगरपालिका २ बस्ने घाइते भई उपचार गराइरहेको अवस्थामा निधन भएका वर्ष १८ का चिरन अर्याल रहेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।