लीलाधर वली
घोराही, कात्तिक २६ गते । दाङमा २५ बिघाभन्दा बढी जमिनमा फूलखेती गरिएको छ । तिहारमा प्रयोग हुने प्लाष्टिक मालालाई हटाउँदै फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो ।
जिल्लामा व्यावसायिक फूलखेती बढेपछि यस वर्ष तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले प्लाष्टिक मालाको प्रयोगलाई प्रतिबन्ध लगाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र दंगीशरण गाउँपालिकामा व्यावसायिक रूपमै सयपत्री फूलको खेती गरिएको छ ।
तिहारको बेला मात्र होइन, यसपालि अन्य सार्वजनिक मेला, महोत्सव र कार्यक्रमहरूमा मालाका लागि सहजै फूल पाइने व्यवसायीको भनाइ छ । दाङमा तिहारका बेला फूलको अभाव नहुने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लाभर करिब २५ बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष जिल्लामा पुष्प व्यवसाय बढेकाले जिल्लामा चाडपर्वको समयमा पुष्पको अभाव हुनेछैन । उहाँले भन्नुभयो, ‘विगतका वर्षहरूको तुलनामा यसवर्ष धेरै ठाउँहरूमा फूलखेती छ । जसले गर्दा विगतमा जस्तो यसवर्ष बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था छैन ।’
उहाँका अनुसार सबैभन्दा धेरै यसवर्ष तुलसीपुर उपमहानगरपालिका–१७ मा एकै ठाउँमा १६ बिघा क्षेत्रफलमा फूलखेती गरिएको छ । त्यहाँबाट दाङका बजार र बाहिरी जिल्लामा समेत फूल निर्यात भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१७ मा १६ बिघासँगै तुलसीपुर–१५ मा १० कठ्ठा र अन्य क्षेत्रको समेत गरी तुलसीपुरमा १८ बिघा क्षेत्रफलमा फूलखेती गरिएको छ । घोराही उपमहानगरपालिकामा करिब पाँच बिघा क्षेत्रफलमा फूल खेती गरिएको लामिछानेले जानकारी दिनुभयो ।
जिल्लामा फूलखेती बढेकाले आम्दानी पनि राम्रो हुने आशामा रहेको घोराही उपमहानगरपालिका –१४ झिगौरामा फूल खेती गर्नुभएका दाङ एग्रोमार्ट कृषि फर्मका सञ्चालक वीरेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगत वर्षमा विक्री भएको अवस्था र यो वर्ष बढेको फूलखेतीले जिल्लाका लागि पर्याप्त उत्पादन भएको छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।’
त्यसैगरी घोराही उपमहानगरपालिका–१४ मा जलजला पुष्प व्यवसाय सञ्चालन गर्दै आउनुभएका लोकेन्द्र रोका मगर पनि जिल्ला फूल खेती बढेकाले यो वर्ष बाहिरबाट ल्याउन नपर्ने अवस्था रहेको बताउनुभयो । विगत छ सात वर्षदेखि फूल खेती गर्दै आउनुभएका रोकाले भन्नुभयो, ‘विगतको तुलनामा यसवर्ष धेरै ठाउँमा खेती भएको छ । यसले जिल्लाको आवश्यकतालाई पुरा गर्ने देखिन्छ ।’ उहाँका अनुसार जिल्लामा यस वर्ष एक सयदेखि एक सय ५० रुपियाँसम्म माला तथा फूल प्रतिकेजी ३ सयदेखि ४ सय रुपियाँसम्म विक्री भइरहेको छ ।