• ७ जेठ २०८१, सोमबार

भूकम्प प्रभावितहरुका लागि ३१ लाख रुपियाँ जम्मा

blog

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २६ गते । जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमको खातामा ३१ लाख १४ हजार १४७ रुपियाँ जम्मा भएको छ । 

कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको विनाशकारी भूकम्पबाट प्रभावितहरुको सहयोगका लागि उक्त रकम जम्मा भएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार यो रकम कात्तिक २३ गतेसम्म मात्र जम्मा भएको हो । नगद, बैंक भौचर, मोबाइल बैकिङ स्लिप कार्यालयमा उपलब्ध गराएको र बैंक स्टेटमेन्ट समेत हेर्दा विपद् व्यवस्थापन कोषमा ३१ लाख बढी रकम जम्मा हुन आएको हो । 

नगद जम्मा गरिसकेका र भौचर पठाउन छुट भएका सहयोगी दाताहरुलाई रकम जम्मा गरेको विवरण उपलब्ध गराउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले कोषमा जम्मा भएको रकम विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौ संशोधन) मापदण्ड, २०७७ र विपद्सम्बन्धी प्रचलित कानुन बमोजिम मात्र खर्च हुने बताउनुभयो ।