केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, कात्तिक २६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने प्रक्रिया सुरु गरेको बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका –७ मा १५ शैय्या अस्पतालको सिलान्यास गर्नुहुँदै मन्त्री बस्नेतले आज सो कुरा बताउनुभएको हो ।
उहाँले वि.सं. २०५४ देखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएको बताउँदै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउने प्रक्रिया अघि बढाएको बताउनुभयो ।
उहाँले हाल स्वास्थ्य क्षेत्रमा करिब २५ प्रतिशत मात्र जनशक्ति रहेका कारण एउटै स्वास्थयकर्मीले धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “वि.सं. २०५४ देखि स्वास्थ्यमा दरबन्दी थपिएको छैन, २२ वर्षअघि म स्वास्थ्य राज्यमन्त्री हुँदा तत्कालीन समयमा स्वास्थ्यमा ३३ हजार दरबन्दी थियो । अहिले उक्त सङ्ख्या ३१ हजारमा छ भने व्यवहारमा २८ हजारले मात्रै रहेकाले स्वास्थ्यमा आवश्यक पर्ने जनशक्ति पूर्ति गर्नका लागि दरबन्दी थप प्रक्रिया अघि बढाइएको छ” स्वास्थ्यमन्त्री बस्नेतले थप्नुभयो ।
उहाँले आगामी छ महिनाभित्र नेपालका अस्पतालमा स्वास्थ्यकर्मी नपाएर रित्तिनुपर्ने अवस्था नआउने दावी गर्नुभयो । उहाँले देशभरका ७५३ वटा स्थानीय तहमा निर्माणका लागि अस्पतालहरु सिलान्यास गरिए पनि कुनै पनि भवन पूरा हुन नसकेको बताउनुभयो ।
उहाँले देशका कतिपय स्थानमा बनेका अस्पतालहरु ओडार बनेको बताउँदै जनशक्तिको अभाव, भवनको अभाव तथा उपकरणको अभावमा काम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य क्षेत्रमा कामहरु अघि बढाएको बताउनुभयो ।
हाल स्वास्थ्य क्षेत्रमा करिब ५ प्रतिशत मात्रै बजेट रहेकाले थोरै बजेटमा पनि काम गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । सङ्घीय सरकार र मण्डनदेउपुर नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुन लागेको अस्पताल २०८१ पुस १ गतेभित्र निर्माण सम्पन्न गर्न क्षितिज–ग्रिनतारा जेभीसँग गत जेठ ३२ मा सम्झौता भएको थियो ।
२२ करोड ८६ लाख ७० हजार ४४७ रुपियाँको लागतमा १५ शैय्याको अस्पताल निर्माण हुनेछ । नगरपालिकामा हाल प्रदेश सरकारको सहयोगमा निर्माण भएको पाँच शय्याको अस्पताल सञ्चालनमा छ ।