वासुदेव शर्मा
जाजरकोट, कात्तिक २६ गते । मध्यरात भूकम्प गएपछि घर यताउता हल्लाउन थाल्यो । सुतेकी थिएँ । ओछयानबाट उठन सकिनँ । छतबाट माटो खसेर मेरो आधा शरीर पुरिसकेको थियो । अर्कोतिर नाति कराएको सुनें ।
आफनो शरीरको माटो पन्छाउँदै नातिलाई जीवित निकाल्ने प्रयास गरें । भत्किएको घरबाट नातिलाई लिएर मुस्किलले बाहिर निस्किएँ । अर्को पट्टी नानी सुतेकी थिइन् । उनलाई पहिला नै घरको छानो खसेर चोट लागिसकेको थियो ।
“केही समयपछि घर गल्र्याङ्गुर्लुङ्ग खस्यो । श्रीमान बाहिर पहिल्यै आइसक्नु भएछ । म घाइते भएपछि नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीयले अस्पताल लगेछन् । अस्पतालमा ल्याएपछि बेहोस थिएँ” भेरी नगरपालिका १ की ६३ वर्षीया सितला कामीले पीडा सुनाउनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल ल्याएछन् । सात वर्षीय नाति शिवराज तिरुवा, घाइते अवस्थामा नातिलाई निकाल्न सफल हुनुभयो । तर १२ वर्षीय विक्रम तिरुवा, ७ वर्षीय गौतम तिरुवा भूकम्पमा घाइते भएपछि अस्पताल ल्याइएछ । मलाई थाहा भएन ८ वर्षीय नाति विष्णु तिरुवाको भूकम्पमा परी मृत्यु भइसकेछ ।
श्रीमान र छोराहरुले श्रम रोजगारी गरी नाना खाना पुगाएकै थिए । केही असुविधा थिएन । १२ नाति नातिनी थिए, एउटा नातिलाई दैवले उठाएछ । कात्तिक १९ गतेसम्म होस खुलेन । २० गते होस खुलेपछि नातिहरु कता छन् सबै सकुशल छन् भनेर सोधेँ नाति विष्णु तिरुवा भुइँचालोमा परी मृत्यु भएको जानकारी पाएँ ।
इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले मलाई सम्झाउँदै भन्नुभयो, “चिन्ता नलिनुहोस्, अब चिन्ता लिएर केही हुँदैन । आफनो मनलाई सम्हाल्नुहोस् ।” उहाँले सम्झाउँदा पनि मन थाम्न सकिएन । झल्झली त्यही नाति आँखा वरिपरि देख्छु । म कसरी बिर्सिन सक्छु, कामीले भन्नुभयो ।