• १२ मंसिर २०८१, बुधबार

मण्डली कपको उपाधि निस्दी खेलकुद विकास समितिलाई

blog

प्रतियोगितार्फत उपाधि जितेपछि निस्दी खेलकुद विकास समितिा खेलाडीहरु ।

इमानसिं राना

रामपुर (पाल्पा), कात्तिक २६ गते । ‘सातौं मण्डली कप–२०८०’ को उपाधी निस्दी खेलकुद विकास समिति पाल्पाले जितेको छ । दीपावली तथा छठ पर्वको अवसरमा भएको खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–२ सेटले पराजित गर्दै उपाधि हात पारेको हो । 

फाइनल खेलको पहिलो र चौथो सेट मणिमुकुन्दले क्रमश २७–२५ र २५–१८ अङ्कसहित हात पारेको छ । निस्दी खेलकुद विकास समितिले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२३ अङ्कसहित हात पारेसँगै खेल बराबरीमा पुगेको थियो । अन्ततः पाँचौं सेट १५–११ अङ्कसहित हात पार्दै निस्दी भलिबल क्लबले सातौ संस्करणको मण्डली कपको उपाधि प्राप्त गरेको हो । 

कात्तिक २२ गतेदेखि पूर्वखोला –१ सिलुवामा भएको प्रतियोगितामा यस सँगै मणिमुकुन्दले द्वितीय स्थानमा चित्त बुझाएको छ । ‘सातौं मण्डली कप–२०८०’ खेलकुद तथा सांस्कृतिक महोत्सव अन्तर्गत भएको प्रतियोगितामा तृतीय जिएम समाज कावासोती नवलपुर र सान्त्वना आयोजक मण्डली स्पोर्टस् क्लब भएको छ । 

तृतीय स्थान छनौटका लागि भएको खेलमा ३–२ सेटले पराजित गर्दै जिएम समाज तृतीय भएको छ । पहिलो र तेस्रो सेट मण्डली स्पोर्टसले २५–१५ र २६–२१ सहित हात पारेको थियो । अन्ततः दोस्रो, चौथो र पाँचौं सेट २६–२४, २५–२१ र १५–६ अङ्कसहित जित निकाल्दै जिएम समाज तृतीय भएको हो । 

 मण्डली स्पोर्टस् क्लबको आयोजना र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा भएको प्रतियोगितामा विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वना समुहले क्रमशः नगद १ लाख १२ हजार २ सय ३३ रुपियाँ, ७५ हजार ५ सय ५५ रुपियाँ, ५१ हजार १ सय ११ रुपियाँ र २५ हजार ५ सय ५५ रुपियाँसहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा विजेता समूह प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र जापानिज नागरिक काजुमासा काकिमी ओके बाजेसहित प्रयोजकहरुले हस्तान्तरण गर्नुभयो । 

दश भलिबल क्लबको उपस्थिति रहेको प्रतियोगितामा बेष्ट प्लेयर निस्दी खेलकुद विकास समितिका हिमाल सुनारी, बेष्ट सर्भर मणिमुकुन्द भलिबल क्लबका अमृत केसी, बेष्ट डिफेन्डर निस्दीका कुञ्जन शाही ठकुरी, बेष्ट सेटर मण्डली स्पोर्टस् क्लवका सुदीप राना हुनुभयो ।

त्यस्तै, बेष्ट स्पाइकर जिएम समाजका मिलन चन्द ठकुरी, वेष्ट ब्लकर जिएम समाजका सुमन राना भएको मण्डली स्पोर्टस् क्लबका सचिव कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो । स्थानीय खेल प्रतिभाको उजागर गर्दै खेलकुदको माध्यममार्फत चिनाउन तथा मौलिक कला र संस्कृतिको जगेर्नाका लागि हरेक वर्ष प्रतियोगिता गर्दैआएको मण्डली स्पोर्टस् क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले बताउनुभयो ।