• १५ मंसिर २०८१, शनिबार

सेती नदीमा चार लेनको ‘सिग्नेचर पुल’को शिलान्यास

blog

पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शिलान्यास हुँदै । तस्बिर : रमेश पौडेल

 रमेश पौडेल
पोखरा, कात्तिक २६ गते ।
पृथ्वीराजमार्गअन्तर्गत रहेको पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शनिबार शिलान्यास गरिएको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेकोे सो पुलको लागत एक अर्ब सात करोड २४ लाख भ्याटसहित रहने बताइएको छ । नेपालकै नमूना सिग्नेचर’ पुल बन्ने गरी निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले डिजाइन गरेको दाबी गरेको छ ।
निर्माणाधीन यस ‘केबल–स्टेड’ प्रविधिको पुलको लम्बाइ १९०/१९० मिटर रहने छ  भने चौडाइ ११/११ गरी २२ मिटर हुनेछ । हाल भइरहेको पुललाई समेत गणना गर्दा ६ लेनको पुल हुनेछ । ६ लेनको पोखरा मुग्लिङ् सडक बिस्तार सँगसँगै यो पुल पनि सञ्चालनमा आउने मुग्लिन–पोखरा (पश्चिम खण्ड) सडक योजनाका योजना प्रमुख राजेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुवैतर्फ २८ देखि ३५ मिटर गहिरा ३०/३० वटा गरी तलमाथि सम्पूर्णमा १२० वटा पाइल रहने छन् । १४ मिटरका ४ वटा फाउन्डेशन टावरमा केबलबाट ४ वटा एङ्कर ब्लक जडान गरी एक्स्ट्रा डोजको सिग्नेचर पुल बन्नेछ । यसलाई थप आकर्षण दिन आधुनिक तवरका बत्तीहरु पनि जडान हुने योजना प्रमुख पौडेलले जानकारी दिनुभयो । सो बत्तीको जडानले रातको समय पनि पुल सेरोफेरो पोखरालाई झिलिमिली पार्नेछ ।

पोखरा पर्यटकीय नगरी भएकाले पनि सौन्दर्यकरण गरी सेल्फीपुलका रुपमा विकास गरी पर्यटकलाई आकर्षण गर्ने नीति लिएको पौडेलले जानकारी दिनुभयो ।

निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाका अनुसार २०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुँदा काम सुरु गर्न ढिलाई भएको बताउनुभयो । तोकिएको समय भित्र पुल निर्माण सम्पन्न गर्ने उहाँको प्रतिबद्धता थियो । यस निर्माणको सम्झौता अवधि तीन वर्षको छ ।

उक्त पुलको शिलान्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुल निर्माण भएपछि पर्यटकीय नगरी पोखराको यातायात प्रणालीमा सुधार हुने अपेक्षा गर्दै निर्माण कार्यमा ढिलाइ नगर्न आग्रह गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जालीले पश्चिमी खण्डको काम निकै नै सुस्त रहेको बताउँदै निर्माण कम्पनीको सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिनुपर्ने बताउनुभयो ।

त्यस्तै सङ्घीय सांसद विद्या भट्टराले पश्चिमी खण्डको काम सुस्त हुँदा पोखराको पर्यटन सँगै अन्य क्षेत्र पनि प्रभावित भएकोे बताउनुभयो । उहाँले सेती खोचको व्यवस्थापनमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराकै नमूना पुलको निर्माण कार्य समयमा सम्पन्न गर्न स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गरिने प्रतिबद्धता जनाउदै निर्माणाधीन पुलले पोखराको पर्यटनमा थप टेवा पुर्‍याउने बताउनुभयो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले एसियाली विकास बैंकको आर्थिक सहयोगमा राजमार्ग स्तरोन्नतिको काम दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको जानकारी दिँदै सिग्नेचर पुल’ को निर्माणले पोखरालाई थप आकर्षित गर्ने बताउनुभयो ।