• ११ मंसिर २०८१, मङ्गलबार

फूलखेतीबाट लाखौँको आम्दानी

blog

शैलुङमा गरिएको व्यावसायिक फूलखेती । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, कात्तिक २६ गते ।
दोलखाको शैलुङ गाउँपालिका–७ का युवाले गरेको व्यवसायिक फूलखेतीबाट लाखौँ आम्दानी भएको छ । स्थानीय युवाहरुले करिब ६६ रोपनी जग्गामा गरेको फूलखेतीबाट दसैंमा मात्र आठ लाख रुपियाँ आम्दानी भएको व्यवसायी सकुन बुढाथोकीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार यहाँ उत्पादन गरिएको फूल दसैंमा काठमाडौं निर्यात गरिएको हो । गत भदौदेखि सुरु गरिएको फूलखेती दसैंमा मात्र आठ लाख रुपियाँको बेचिएको हो । पाँच जना युवाले सुरुवात गरेको कोलकत्ते टेनिस (सयपत्री) जातको फूल खेती प्रभावकारी बन्दै गएको छ । फूल अझै ४० हजार जत्ति बेच्न बाँका  छ । मेरो आफ्नै पनि सात हजार बिरुवा रोपेको र ४० हजार केजी जति तिहारमा काठमाडाैं लगेर बेच्ने तयारी भइरहेको छ ।

यसलाई स्थानीय सरकारका तर्फबाट उत्पादनमा प्रोत्साहन तथा उत्पादित वस्तुको आवश्यक बजारीकरणको व्यवस्था गरिदिन सकेमा अझ युवा विदेशिनुभन्दा स्वदेशमै रोजगारी बन्न सक्ने वडा नम्बर ५ का वडाध्यक्ष दिलकुमार तामाङले बताउनु भयो ।

युवाले संयुक्त रुपमा सञ्चालन गरेको फूल व्यवसायले शैलुङ गाउँपालिका भित्रका आम कृषकहरुको आर्थिक समृद्धिको निमित्त कोशेढुङ्गा सावित हुने वडाअध्यक्ष तामाङको कथन छ ।

वडा नम्बर ७ कै शशिभूषण कार्कीले सेनामा रहँदा प्राप्त गरेको तालिमको अनुभवबाट गरेको कलकत्ते टेनिसबल जातको सयपत्ती फूलखेतीबाट अमेरिकामा पाँच सय केजी निर्यात भएको छ । उहाँले भन्नुभयो, ‘‘प्रतिकिलो दुई सयले नौ सय केजी काठमाडौं र यहीँ खपत भएको छ । नर्सरीबाट १० हजार आम्दानी हुँदा दुई लाख ९० हजार रुपियाँ आम्दानी भइसकेको छ । दुई फुटे मालाको ५० रुपियाँमा बिक्री हुन थालेको छ ।’’

भारतको गुजरातमा लिएको ४५ दिने तालिमको सदुपयोग गरी तिहारलाई ४० हजार केजी उत्पादन भएको छ । ‘‘कोलकत्ताबाट एक लाख २० हजारको बिउ ल्याएर ब्याड बनाई खेती गरिएको हो । एक हजार बोट मखमली फूलबाट पाँच सय थान माला बन्ने र ६० हजार आम्दानी हुने अपेक्षा गरिएको छ । तीन महिनामा करिब ८३ लाख रुपियाँ आम्दानी हुने देखिएको छ । रोपेको बोटबाट तीन पटकसम्म उत्पादन हुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘नौ महिनामा दुई करोड ४९ लाख आम्दानी हुने रहेछ । पहिलो पटकमा नौ लाख खर्च, बिउमा एक लाख २० हजार, चार जना कामदारलाई खाना बस्न र तलब गरी तीन लाख र मौसम अनुसारका कामदारलाई दुई लाख गरी कुल १५ लाख खर्च हुन्छ ।’’

फूलखेती अपार रहेछ । सोचे जस्तो भयो भने वर्षमा दुई करोड खुद नाफा हुनेछ । उहाँले भन्नुभयो, पाँच जना लगानी कर्तालाई तलब र नाफा गरी ४०/४० लाख रुपियाँ भागमा पर्छ । अर्काको गुलाम हुन किन जानु पर्‍याे विदेश ? विदेस जान लागेका चार जनालाई भिसा रद्द गराई यो खेतीमा समावेश गरिएको हो । अब उनीहरु विदेश जा भने पनि जाँदैनन् । सेनाको २० वर्षको नोकरीमा जमदारबाट अवकाश भएको हुँ । योे पेसा जागिर नखाएरै गर्नुपर्ने जस्तो लागिरहेछ ।