• १३ मंसिर २०८१, बिहिबार

चिसोले कठ्याङ्ग्रिन थाले भूकम्पपीडित, वर्षाले थप पीडा

blog

भूकम्पपीडित ।

राजु लामिछाने
रुकुमपश्चिम, कात्तिक २५ गते ।
भूकम्पपछि घरबासविहीन यहाँका सर्वसाधारणहरु चिसोले कठ्याङिग्रन थालेका छन् । शनिबार बिहानदेखि लागेको बादल र साँझ परेको पानीका कारण खुला चौरमा त्रिपालमुनि बसिरहेका भूकम्प प्रभावितहरुले थप पीडा थेप्न परेको छ ।

आठविसकोट नगरपालिका–१३ मा महेश मल्लले त्रिपालमुनि रहेका अधिकांश प्रभावित परिवारहरु आकाशे पानीका कारण कठ्याङ्ग्रिन थालेको बताउनुभयो । त्रिपालमा बसिरहेका परिवारका सदस्यहरु बस्ने गरिएकोमा पानी पर्दा स्वास्थ्यमा समस्या देखिन थालेको उहाँको भनाइ छ ।

कतिपय स्थान अझै भूकम्प पीडितहरुले त्रिपाल र राहतसम्म पाउन नसकेको गुनासोका बिच पानी पर्दा थप पीडा थपिएको छ ।

वर्षाका कारण बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुमा बढी प्रभाव पर्नसक्ने बताइएको छ । पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले भूकम्पको विपत्ति खेपिरहेका जाजरकोट र रुकुम पश्चिमका सर्वसाधारणहरुलाई वर्षाले समेत पीडा थप्न थालेको बताउनुभएको छ ।
उहाँले यस्तो कठिन बेलामा प्रकृति पनि निर्दयी बनेको उल्लेख गर्नुभएको छ । जनताको रक्षा कसरी गर्ने भन्ने प्रश्न उब्जिएकाले तत्काललाई सबैजना आआफ्नो स्थानमा सुरक्षित भएर बस्न समेत अनुरोध गर्नुभएको छ । भूकम्पले चिराचिरा पारेको घर ठूलो पानी परे भत्कने चिन्ता भूकम्पपीडितमा रहेको छ ।

रुकुम पश्चिममा कात्तिक १७ गते शुक्रबार गएको भूकम्पको कारण ५३ जनाको मृत्यु भएको छ भने १६ हजार ५७० घर पूर्ण क्षति भएका छन् । त्यसैगरी नौ हजार ९६१ घरमा आंशिक क्षति भएको प्रारम्भिक तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समितिमा छ ।