• ६ माघ २०८१, आइतबार

स्वस्थ मधेश निर्माण गर्नुपर्छ : मन्त्री सिंह

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, कात्तिक २५ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्रप्रसाद सिंहले स्वस्थ, शिक्षित र समृद्ध मधेश निर्माणमा लाग्न प्रदेशका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । 

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको आर्थिक वर्ष २०७९–८०मा सम्पादित स्वास्थ्य कार्यक्रमको तीन दिवसीय प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीको समापन सम्मारोहमा उहाँले शनिबार सो निर्देशन दिनुभएको हो । 

उहाँले प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक जिल्लामा आवश्यकताअनुसार बजेट परिचालन गरेको भन्दै सो बजेटको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले प्रत्येक प्रादेशिक जिल्ला अस्पतालको भौतिक पूर्वाधार सुधारका लागि अढाइ करोड रुपियाँ दिइएकाले अस्पतालको आवश्यकताअनुसार पूर्वाधार निर्माण र मर्मत सम्भारमा खर्च गर्न आग्रह गर्नुभयो । 

उपचार अभावमा आमनगरिक अस्पतालवाट फर्किनेगरेको भन्दै व्यापक जनगुनासो रहेकाले गम्भीर हुन आग्रह गर्नुभयो । उहाँले काम नगर्ने कर्मचारीको कुनै आवश्यकता नभएको पनि बताउनुभयो । स्वास्थ्यमन्त्री सिंहले जनशक्ति अभावका कारण समस्या छ भने कुरा अस्पतालका इन्चार्जबाट पटक पटक आउनेगरेको भन्दै फागुन मसान्तसम्ममा करारमा भए पनि जनशक्ति पूरा गर्ने मन्त्रालयको लक्ष्य भएको बताउनुभयो । 

मन्त्री सिंहले अस्पतालहरुमा औषधि हुँदा पनि औषधि नदिएर नागरिकलाई फर्काउने, ल्याबको रिपोट सही नदिने, ज्येष्ठ नागरिकहरुसँग पैसा असुल्नेजस्ता वेथितीहरु अझै अस्पतालमा कायम रहेको भन्दै त्यस्ता व्यथितीहरु अन्त्य गर्न अस्पतालका प्रमुखहरुलाई निर्देशन दिनुभयो । 

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका स्वास्थ्य निर्देशक राजीव झाको अध्यक्षतामा भएको सो कार्यक्रममा न्यूनतम सेवा मापदण्डका आधारमा स्वास्थ्य सेवा प्रवाह गरेका सिरहा, गौर र जलेश्वर प्रादेशिक अस्पताल, पालिका स्तरीय वर्दिवास नगरपालिकाका अस्पताल र पर्सा, सिरहा र सर्लाही जिल्ला स्वास्थ्य कार्यालयलाई सम्मान गरिएको छ ।