सिराज खान
नेपालगन्ज, कात्तिक २५ गते । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरूमध्ये ५८ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । समयमै अस्पताल पुर्याउन सकिएको र अस्पतालबाट राम्रो उपचार सेवा पाएकाले उपचारका लागि विभिन्न माध्यमबाट अस्पताल लगिएकामध्ये हालसम्म ४० जना निको भएर घर फर्किएको भेरी अस्पतालले जनाएको छ ।
अब सो अस्पतालमा १४ जना घाइतेको मात्र उपचार भइरहेको छ । भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेको पहलमा चिकित्सक, स्वास्थ्यकर्मी र समाजसेवीहरुको रातदिनको सहयोगले यति धेरै घाइते छिटै निको भएको बताउनुभयो ।
उहाँले भेरी अस्पतालले एक पटक फेरि आफूलाई पश्चिम नेपालको सबैभन्दा उत्कृष्ट अस्पताल साबित गर्न सफल भएको जनाउँदै कोरोनापछि अहिले आएको यो विपत्तिमा पनि नागरिकको सफल उपचार गर्न सकेको बताउनुभयो ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेको प्रमुख तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सबैको सहयोग र सदभावले यो विपत्तिमा घाइते भएकाको सफल उपचार गर्न सकिएको र सबैको ज्यान जोगाउन सफल भएको बताउनुभयो ।
उहाँले निको भएर घर फर्किने घाइतेलाई बाँके युनेस्को क्लबको सहयोगमा जनही २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेलसँगै बिग्रुपको तर्फबाट बसको सुविधासहित विपद व्यवस्थापन समितिको तर्फबाट त्रिपाल र कम्बल दिएर पठाइएको बताउनुभयो ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालमा उपचाररत सबै घाइतेको अवस्था क्रमशः सामान्य बन्दै गएकाले उनीहरुलाई डिस्चार्ज गरिएकाे बताउनुभयो ।
उहाँले गत शनिवार बिहानैदेखि दिनरात खटिएर चिकित्सक र स्वास्थ्यकर्मीले गरेको मिहिनेतको परिणामस्वरुप यहाँ आएका सबै घाइतेको स्वास्थ्य सामान्य बनेको बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार उपचारका लागि भेरी अस्पताल ल्याइएकामध्ये एक जनाको बाटोमै मृत्यु भइसकेको थियो भने तीन जनाको मिर्गौलामा गम्भीर समस्या देखिएकाले उनीहरुलाई काठमाडौं रिफर गरिएको थियो । बाँकी सबैको यहीँ उपचार भएको हो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले भेरी अस्पतालमा ल्याइएका सबै घाइतेको निःशुल्क उपचार गरिएको जनाउँदै सबैको सफल उपचार हुन सकेकोमा खुशी लागेको बताउनुभयो ।
घाइतेको उपचार व्यवस्थापनमा दिनरात खटिनुभएका अध्यक्ष शाहले घाइतेको उपचारका लागि जिल्लाको सबै क्षेत्रबाट सहयोग र समर्थन पाएको बताउनुभयो ।